लगातार तीन सिजन फाइनलमा शेर मल्ल, तेस्रो उपाधि जित्दै इतिहास रच्ने अवसर

0 Shares

काठमाडौं । लुम्बिनी लायन्सका स्पिनर शेर मल्ल नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो सिजन फाइनल खेल्दैछन्।

पहिलो सिजन जनकपुर बोल्ट्स र दोस्रो सिजन लुम्बिनी लायन्सबाट उपाधि जितेका मल्ल यसपटक पनि च्याम्पियन बने लगातार तीन सिजन उपाधि जित्ने दुर्लभ उपलब्धि आफ्नो नाममा लेखाउने अवसरमा छन्।

शनिबार हुने तेस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ। सुदूरपश्चिम पनि लगातार तेस्रो पटक फाइनल पुगेको हो। तर तीनै सिजन फाइनल खेलेर लगातार उपाधि जित्ने विशेष अवसर भने शेर मल्लसँग छ।

पहिलो सिजन जनकपुर बोल्ट्सबाट खेलेका मल्ल टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण सदस्य बनेका थिए। दोस्रो सिजन जनकपुरबाट रिलिज भएपछि मिनी अक्सनमार्फत लुम्बिनी पुगेका उनले उत्कृष्ट प्रदर्शन गर्दै १० खेलमा १७ विकेट लिएर सर्वाधिक विकेट लिने बलरमध्ये शीर्ष स्थानमा रहे। उनको यही प्रदर्शनले लुम्बिनीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेको थियो।

यस सिजन पनि मल्लको प्रदर्शन प्रभावशाली छ। सात खेलमा ११ विकेट लिएका उनले पहिलो क्वालिफायरमा सुदूरपश्चिमविरुद्ध दुई विकेट लिँदै लुम्बिनीलाई फाइनल पुर्‍याउन योगदान दिएका छन्।
एनपिएलमा उत्कृष्ट प्रदर्शनकै आधारमा राष्ट्रिय टोलीमा स्थान बनाएका मल्लले टी–२० विश्वकप २०२६ मा नेपालका लागि डेब्यू गर्ने अवसरसमेत पाए। अब शनिबारको फाइनल उनको क्रिकेट करियरमा अर्को ऐतिहासिक उपलब्धि थप्ने अवसर हुनेछ।

सम्बन्धित समाचार