यूएईले बदला लिँदा उपाधिसँगै भारत र पाकिस्तानसँग खेल्ने सपना समाप्त

0 Shares

काठमाडौं । साबिक विजेता नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको छ । शुक्रबारको खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको हो ।

योसँगै टी २० विश्वकपपछि हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने नेपालको सपनासमेत समाप्त भएको छ । ओमनको अल अमारतमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभर खेल्दै ११९ रन मात्रै बनाएको थियो ।

आजको खेलमा सन्दीप जोराबाहेक कुनै पनि खेलाडीले दोहोरो रन बनाउन सकेनन् । नेपालले केवल १२० रनको लक्ष्य दिन ९ विकेट गुमाएको थियो । नेपालका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि जोराले सर्वाधिक ५० रन जोडे । गुल्सन झाले २० र करण केसीले १७ रन बनाए । इनिङ्सको पहिलो बलमै कुशल भुर्तेल गोल्डेन डकआउट भए । रोहित पौडेलले १८ बलमा ५ रन जोडे । आसिफ शेखले ८ रन बनाउँदा कुशल मल्ल ३ र दीपेन्द्रसिंह ऐरी ५ रनमा आउट भए ।

यूएईका जुनैद खान, अलि नासिर र बासिल हमिदले २-२ तथा आयान अफजल खान, मुहम्मद फारुक र ओमिद सफि रहमानले एक-एक विकेट लिए ।

यूएईले १७.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । ओपनर एलिसान सराफुले सर्वाधिक ५५ रन बनाउँदा विष्णु सुकुमारनले २८, आसिफ खानले १० र सेयद हैदरले १४ रन बनाए ।

नेपालका लागि गुल्सन झाले २ तथा ललित नारायण राजवंशी र सोमपाल कामीले एक-एक विकेट लिए । नेपालले गत वर्ष यूएईलाई नै हराएर एसिया कपमा पुगेको थियो ।

सम्बन्धित समाचार