काठमाडौं । भदौ २३ र २४ गतेको जेन्जी विद्रोहपछि केही दिन तनावग्रस्त बनेको काठमाडौं उपत्यका फेरि सामान्य अवस्थामा फर्किएको छ ।
भ्रष्टाचारविरुद्धको प्रदर्शनमा ओली सरकारले गरेको दमनमा १९ जनाको ज्यान गएको थियो ।
दमनपछि आन्दोलनकारीले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकासहितका प्रमुख प्रशासनिक भवन कब्जा गरी ध्वस्त पार्नेदेखि राजनीतिक दलका कार्यालय, नेताका निवास र सरकारी सम्पत्तिमा आगजनीसमेत गरेका थिए ।
उच्च सुरक्षा जोखिमबीच सेनाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित देउवा, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायत पूर्वप्रधानमन्त्री र मन्त्रीहरूलाई उद्धार गरी सुरक्षित स्थलगत लगेको थियो ।
भदौ २४ मा ओलीलाई बालुवाटारबाट शिवपुरीस्थित सेनाको ब्यारेकमा लगिएको थियो भने प्रचण्ड सिंहदरबारमै उद्धार भएका थिए ।
बूढानीलकण्ठस्थित निवासमा रहेका देउवा र आरजु राणामाथि प्रदर्शनकारीले आक्रमण गरी निर्घात कुटपिट गरेका थिए ।
सेना हस्तक्षेपपछि दुवैलाई अस्पताल पुर्याइएको थियो ।
खनाल निवासमा भएको आगजनीमा उनकी श्रीमती रविलक्ष्मी चित्रकार गम्भीर घाइते भएकी छिन् ।
बाबुराम भट्टराईको निवाससमेत जलाइए पनि उनी आफन्तको घरमै बसेका थिए ।
यद्यपि शेरबहादुर देउवा र केपी शर्मा ओलीले सरकारसँग आफ्नो घर निर्माण र तत्काल डेराको व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।
यसका साथै सेनाले आफूहरूलाई ब्यारेक बाहिर पठाउनु पहिले सुरक्षाको ग्यारेन्टी गरेका छन् ।