काठमाडौं । कामना सेवा विकास बैंक प्रदेश कार्यालय बुटवलले सामाजिक उत्तरदायित्व अन्तर्गत मालपोत कार्यालय बुटवललाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ। बैंक सञ्चालक समिति सदस्य भीमप्रसाद तुलाचन, प्रदेश प्रमुख हेमन्त बाबु आचार्यको नेतृत्व तथा विभिन्न शाखाका प्रबन्धकको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो।
हालैको जेनजी आन्दोलनका कारण क्षतिग्रस्त बनेको मालपोत कार्यालयलाई प्रदान गरिएको सामग्रीले कार्यालय सञ्चालनमा सहजता ल्याउने विश्वास बैंकको छ।
स्थानीय समुदायका प्रतिनिधिले बैंकको योगदानप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक उत्तरदायित्वपरक कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका थिए।
सञ्चालक तुलाचनले बैंकले व्यावसायिक बैंकिङसँगै सामाजिक उत्तरदायित्वलाई पनि उच्च प्राथमिकता दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा मालपोत कार्यालय बुटवलका कर्मचारी तथा स्थानीय समुदायका प्रतिनिधि सहभागी थिए।