काठमाडौँ । नव-नियुक्त अर्थमन्त्री रामेश्वर खनालले खुद्रे आयोजनाहरू खारेज गरेर करिब एक खर्ब रुपैयाँ स्रोत जोहो गर्ने बताएका छन्। पदभार ग्रहण गरेपछि अर्थ मन्त्रालयमा अधिकारीहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन्।
छलफलका क्रममा अर्थमन्त्री खनालले यसपालिको बजेटमा निर्वाचनका लागि आवश्यक खर्चको प्रबन्ध नगरिएको हुँदा त्यसको लागि स्रोत जुटाउनु परेको स्पष्ट पारे। उनले अब पूरक बजेट ल्याउने सोचमा सरकार नरहेको र त्यसको सट्टा फजुल खर्च कटौती गर्ने र राजनीतिक दबाबमा समावेश गरिएका अप्रस्तावित आयोजनाहरूबाट रकम निकाल्ने योजना रहेको बताए।
“छ महिनाभित्र हामीले निर्वाचन गर्नुपर्नेछ, जसका लागि यसपटकको बजेटमा कुनै प्रबन्ध गरिएको थिएन,” अर्थमन्त्री खनालले भने, “हामी पूरक बजेट ल्याउने पक्षमा छैनौं। त्यसैले, बजेटभित्र रहेका फजुल खर्च र कुनै अध्ययनविना राजनीतिक दबाबमा राखिएका आयोजनाहरूबाट रकम निकाल्छौं।” उनले यसरी करिब एक खर्ब रुपैयाँ जुटाउन सकिने र त्यसको उपयोग निर्वाचन तथा सिंहदरबारको पुनर्निर्माणमा गरिने जानकारी दिए।
उनले थपे, “सिंहदरबार छिर्दा मैले यस्तो विध्वंस कहिल्यै देखेको थिइनँ, यो खण्डहरजस्तो देखियो। अर्थ मन्त्रालयमा आगलागीबाट लागेको कालो धब्बा र परिसरभित्र जलेका गाडीहरू तत्काल हटाउने काम पनि सुरु गरिनेछ।”
खनालले गल्ती गर्नेलाई कुनै हालतमा नछोड्ने बताए। पदभार ग्रहणपश्चात कर्मचारीहरुलाई निर्देशन दिँदै अर्थमन्त्रीले विगतमा गल्ती गरेकालाई नछोड्ने बताएका हुन् ।
उनले जानेर गल्ती गर्न हुँदै नहुने भन्दै नजानेर पनि गल्ती नगर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । त्यस्तै, उनले विगतमा गल्ती गरेकाहरुलाई पनि नछोड्ने बरु अनुसन्धानका दायरामा ल्याएर कारवाही गर्ने बताएका छन् । उनले आफू १४/१५ घण्टा मन्त्रालयमै बसेर काम गर्ने भन्दै कर्मचारीहरुलाई पनि सोही अनुसार तयार रहन निर्देशन दिएका छन् ।