बाँके । जेनजीको आन्दोलन हुँदा काठमाडौंमा ज्यान गुमाएका नेपालगञ्ज उपमहानगर १ निवासी सुलभराज श्रेष्ठ र आयुष थापाको परिवार पाँच दिनदेखि शवको पर्खाइमा छन् ।
घटनाको पाँच दिनसम्म शव ल्याउन नसक्दा अभिभावक र आफन्तजन थप पीडामा परेको वडा नं १ का वडाध्यक्ष प्रमोद रिजालले बताए ।
“एउटै वडाका दुई युवालाई जेनजी आन्दोलनमा गुमाउनु पर्दा सिंगो वडावासी शोकमा रहेको छ, यतिका दिनसम्म शवसमेत पाउन नसक्दा थप पीडा भएको छ,” वडाध्यक्ष रिजालले भने ।
नेपालगञ्ज १ धम्बोझी निवासी १९ वर्षीय आयुष र २३ वर्षीय सुलभराजको गत २३ भदौमा जेनजी आन्दोलनको क्रममा प्रहरीको गोली लागि ज्यान गएका थिए ।
फिनल्यान्ड जाने तयारीका लागि आयुष काठमाडौं आएका थिए । सुलभराज काठमाडौंको कान्तिपुर इञ्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ पढ्दै थिए ।
उनका अनुसार घटनाको जानकारी पाउनासाथ आयुषका बुवा सुशील र सुलभराजका बुवा नरेन्द्र काठमाडौं पुगे पनि छोराको शव घर ल्याउन सकेका छैनन् । छोराको शव घर लैजान नपाउँदा पीडामाथि थप पीडा थपिएको नरेन्द्रले सामाजिक सञ्जालमार्फत बताएका छन् ।
नेपालगञ्ज १ नम्बर वडा कार्यालयले गत २४ भदौमा शोक विज्ञप्ति जारी गरी मृतकलाई श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको थियो ।