काठमाडौं । एक सय दुई वर्षीय कोकिची अकुजावा जापानको सर्वोच्च शिखर माउन्ट फुजी आरोहण गर्दै संसारकै सबैभन्दा वृद्ध पर्वतारोही बन्न सफल भएका छन् । यो उपलब्धिलाई गिनिज वर्ल्ड रेकर्डले अगस्टको सुरुआतमा प्रमाणित गरेको हो ।
‘म साँच्चिकै आधा बाटोमै छोड्ने मनस्थितिमा पुगेको थिएँ,’ अकुजावाले एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा भने, ‘शिखरसम्म पुग्नु कठिन थियो, तर साथीहरूको प्रोत्साहनका कारण अन्ततः सफल भएँ, धेरै मानिसको सहयोगले मात्र यो सम्भव भयो।’
अकुजावा आफ्नी ७० वर्षीया छोरी मोटो, नातिनी, नातिनी ज्वाइँ तथा स्थानीय पर्वतारोहण क्लबका चार सदस्यसँगै आरोहणमा सहभागी भएका थिए। टोलीले अगस्ट ५ मा समुद्री सतहदेखि तीन हजार ७७६ मिटर उचाईमा रहेको जापानको सबैभन्दा अग्लो शिखरमा पुग्नुअघि ट्रेलमा दुई रात शिविरमा बिताएको थियो ।
पचहत्तर वर्षीया अर्की छोरी युकिकोले बुबाका कानमा प्रश्नहरू दोहोर्याउँदै सहयोग पुर्याएकी थिइन् । ‘उमेरसँगै कुनै पनि पर्वत सामान्य हुँदैन,’ अकुजावाले भने, ‘जति सकिन्छ, चढ्नु राम्रो हुन्छ ।’
यो अकुजावाको पहिलो रेकर्ड तोड्ने आरोहण भने थिएन । उनी ९६ वर्षको उमेरमा फुजी आरोहण गर्ने सबैभन्दा वृद्ध व्यक्ति बनेका थिए । त्यसपछि उनले मुटुको समस्या, असफल आरोहणका चोटपटक, दाद (चर्मरोग) र टाँका झेलेर पनि यात्रालाई निरन्तरता दिएका थिए ।
फुजी आरोहणअघि उनले तीन महिनासम्म विशेष तालिम लिएका थिए । बिहान ५ बजे उठेर घण्टौँ लामो पैदलयात्रा गर्ने र हरेक हप्ता एकपटक प्रायः गुनमा र नजिकैको नागानो प्रान्तका पहाडहरू आरोहण गरेका थिए ।