काठमाडौं । फर्जी कागजात बुझाएर नेपाल बीमा प्राधिकरणको अध्यक्ष बनेका शरद ओझालाई सरकारले बर्खास्त गरेको छ । सरकारले नियु क्त गरेको ६ महिनामै उनलाई वर्खास्त गरेको हो।
गत फागुन १२ गते मन्त्रिपरिषद बैठकले ओझालाई अध्यक्षमा नियुक्त गरेको थियो। सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले ओझालाई बर्खास्त गर्ने निर्णय गरेको हो।
उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिले आइतबार सरकारलाई प्रतिवेदन बुझाएको थियो । समितिले ओझासँग प्राधिकरणको अध्यक्ष बन्न योग्यता नरहेको र फर्जी कागजात बुझाएर नियुक्ति लिएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो।
उनको नियुक्ति विवादित भएपछि असार ३० गते मन्त्रिपरिषद्ले छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा छानबिन समिति बनाएको थियो। त्यही दिनबाट उनी पदबाट निलम्बित भएका थिए।