एभरेष्ट बैंकले सवारी साधन किन्न चाहने सेवाग्रहीलाई ६.५२ प्रतिशत व्याजदरमा ५ दिनमै सवारी कर्जा दिने

0 Shares

काठमाडौं । आजदेखि सुरू भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा एभरेष्ट बैंकले विशेष व्याजदरमा ग्राहलाई सवारी कर्जा उपलब्ध गराउने भएको छ ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा सुरु भएको एक्स्पोमा २१ लाख रुपैयादेखि एक करोड ५० लाख रुपैयाँसम्मको मूल्यका गाडीहरु प्रदर्शनीमा राखिएका छन् ।

प्रदर्शनीलाई शीर्ष प्रायोजन गरेको एभरेष्ट बैंकले सवारी साधन किन्न चाहने सेवाग्रहीलाई साउन महिनाको आधार दर ५.२७ मा १.२५ प्रतिशत प्रिमियम थप गरेर ६.५२ प्रतिशतमा सवारी कर्जा उपलब्ध गराउने भएको हो । नाइमा मोबिलिटी एक्स्पोका लागि नै बैंकले आकर्षक व्याजदर योजना तयार गरेको र सामान्य अवस्थाको व्याजदरभन्दा यसमा फरक पर्ने बैंकले जनाएको छ ।

भदौ महिनामा आधारदरमा संशोधन भएको खण्डमा भने नाइमामा सवारी बुक गरेका ग्राकहले सो महिनाको नयाँ आधारदरमा १.२५ प्रतिशत प्रिमियम थप गरेर सवारी कर्जा पाउने बैंकले प्रष्ट पारेको छ । एक्स्पोमा राखिएको ४ पाङ्ग्रे सवारी साधनको खरिदमा बैंकले वित्तीय सेवा उपलब्ध गराउने छ ।

बैंकका अनुसार नेपाल राष्ट्र बैंकले ताकेको न्युनतम मापदण्ड पुरा गरेका सेवाग्राहीको कर्जा ५ कार्यदिनमा स्वीकृत हुनेछ । कर्जा लिनका लागि आवश्यक कागजात, आम्दानीको स्रोत लगायत पुरा गरी नाइमा मोबिलिटी एक्स्पोमा सवारी साधन बुक गरेका ग्राहकले एभरेष्ट बैंकको कुनै पनि शाखामा गएर सवारी कर्जाका लागि आवेदन दिन सक्नेछन् ।

मापदण्ड पुरा भएर गएका ग्राकहको कर्जा ५ कार्यदिनमा स्वीकृत गरी नयाँ गाडी दिलाउने बैंकले जनाएको छ । बैंकले प्रदर्शनीस्थलमा स्टल राखेर समेत सवारी कर्जा लिनका लागि सहनीकरण गरेको छ ।

सम्बन्धित समाचार