गरिमा विकास बैंकको १२७औँ शाखा कार्यालय बालुवाटारमा सञ्चालनमा

0 Shares

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका–३, बालुवाटारमा आफ्नो १२७औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा बुधबारदेखि बालुवाटारस्थित आफ्नै केन्द्रीय कार्यालय भवनबाट नयाँ शाखाको सेवा सुरु गरेको हो ।

बैंकले पहिलोपटक कारोबार सञ्चालन गरेको १९औँ वर्षको विशेष अवसर पारेर कात्तिक १८ गतेदेखि बालुवाटार शाखा सञ्चालनमा ल्याएको जनाएको छ । बैंकले ग्रामीण भेगदेखि सहरी क्षेत्रसम्म सरल, सुरक्षित तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यसहित शाखा विस्तारलाई निरन्तरता दिँदै आएको छ ।

गरिमा विकास बैंकका अध्यक्ष दिलीपप्रताप खाँणको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाले नयाँ शाखाको उद्घाटन गरेका हुन् ।

नयाँ शाखामार्फत ग्राहकले नियमित बैंकिङ सेवाका अतिरिक्त एटीएम, लकर तथा विदेशी मुद्रा सटहीलगायतका सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । शाखा सञ्चालनसँगै बालुवाटार तथा आसपासका क्षेत्रका व्यक्तिगत र संस्थागत ग्राहकलाई बैंकिङ सेवा लिन थप सहज हुने अपेक्षा गरिएको छ ।

बैंकका अनुसार शाखा विस्तारलाई भौगोलिक उपस्थितिको वृद्धि मात्र नभई स्थानीय आर्थिक गतिविधि प्रवर्द्धन, उद्यमशीलताको विकास, बचत परिचालन तथा उत्पादनशील क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने माध्यमका रूपमा लिइएको छ ।

बालुवाटारमा नयाँ शाखा सञ्चालनमा आएसँगै व्यक्तिगत तथा संस्थागत ग्राहकको आवश्यकताअनुसार वित्तीय सेवा उपलब्ध गराउन र स्थानीय आर्थिक गतिविधिलाई थप गतिशील बनाउन सहयोग पुग्ने बैंकको विश्वास छ ।

आईएसओ ९००१:२०१५ तथा आईएसओ २७००१:२०२२ प्रमाणपत्र प्राप्त गरिसकेको गरिमा विकास बैंकले देशका सातै प्रदेशमा फैलिएको शाखा सञ्जालमार्फत करिब १० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ । बैंकले ग्राहकलाई सहज, सुरक्षित र विश्वसनीय बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्यसहित आफ्नो सेवा सञ्जाल विस्तार गर्दै आएको छ ।

सम्बन्धित समाचार