काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचार नगरेको दाबी गरेका छन्। पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गराएर आर्थिक अपचलन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको थुनछेक बहसमा उनले यस्तो दाबी गरेका हुन्।
‘उहाँलाई थुनामा पठाउनु पर्दैन मोबाइल नम्बरमात्रै राखे छोडिदिनू। उहाँले भ्रष्टाचार गर्नु भएको छैन। अनियमितता गर्नु भएको छैन।मन्त्रिपरिषद्ले गरेको एउटा निर्णय हो,’ उनले भने, ‘पतञ्जलि जस्तो संस्थाले नेपालमा आएर भ्रष्टाचार अनियमितता गर्नुपर्ने अवस्था पनि छैन। यदि, उहाँले गरेको हुन्थ्यो भने रामदेव र आचार्य बालकृष्णलाई पनि बयान लिन सकिन्थ्यो त्यो गरिएको छैन।’
उनले पतञ्जलिले जग्गाको व्यापार नै गर्ने भए २०-३० रोपनी जग्गा किनेर बेच्न सक्ने अवस्था रहेकोले हदबन्दी छुट किन लिन्थ्यो भन्दै प्रश्न गरे।
उनले पतञ्जलिलाई जग्गा हदबन्दी छुट दिएको मुद्दा र गिरीबन्धकुको विषय एकै प्रकृतिको पनि उल्लेख गरे।
‘यहाँ मात्रै भएको हो र ? गिरीबन्धुमा पनि हदभन्दा बढी जग्गा लिएकै छ। जग्गा बेचेकै छ। यस्तै निर्णय त हो नि त्यसमा मुद्दा नचल्ने, यसमा चल्ने ? उनले प्रश्न गरे।