दसैंको अग्रिम टिकट असोज २३ देखि, लामो दूरीका बसमा दुई चालक अनिवार्य

0 Shares

काठमाडौं । दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला हुने भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकारवाला निकायको उच्चस्तरीय बैठकले असोज २३ देखि अग्रिम टिकट खुला गर्ने निर्णय गरेको हो।

दसैंमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चापलाई ध्यानमा राख्दै विभागले यातायात व्यवसायी, यातायात श्रमिक संगठन, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा नयाँ बसपार्क व्यवस्थापक ल्होत्से बहुउद्देश्यीय प्रालिका प्रतिनिधिसँग छलफल गरेको थियो। छलफलपछि अग्रिम टिकट बुकिङ खोल्ने सहमति भएको अखिल नेपाल यातायात मजदुर संगठनका अध्यक्ष दीपक केसीले जानकारी दिए।

यस वर्ष दसैं अवधिमा करिब १० लाख यात्रुले काठमाडौं उपत्यका छाड्ने अनुमान गरिएको छ। अग्रिम टिकट बुकिङ खुल्न ढिलाइ हुँदा यात्रुमा अन्योल देखिएको थियो। केही यातायात कम्पनीले भने यसअघि नै अनलाइनमार्फत टिकट बुकिङ गरिरहेका थिए।

बैठकले चाडपर्वका बेला यात्रुको सुरक्षा र यातायात व्यवस्थापनलाई व्यवस्थित गर्न विभिन्न निर्णयसमेत गरेको छ। निर्णयअनुसार लामो दूरीका सार्वजनिक सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्नेछ।

त्यस्तै, टिकट काउन्टरमा बस्ने कर्मचारीले परिचयपत्र र युनिफर्म अनिवार्य लगाउनुपर्ने व्यवस्था गरिएको छ। टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बरसमेत अभिलेख राख्नुपर्नेछ।

चाडपर्वको समयमा तोकिएको भन्दा बढी भाडा असुल गर्ने, टिकटमा कालोबजारी तथा अनियमितता गर्ने र यात्रुलाई ठगी गर्ने कार्यमा संलग्नमाथि कानुनी कारबाही गरिने विभागले जनाएको छ। टिकट बिक्री प्रणालीलाई पारदर्शी बनाउन सरकार, यातायात व्यवसायी र सुरक्षा निकायबीच समन्वय गर्ने निर्णय पनि भएको छ।

सुरक्षित यात्रा तथा राजमार्गमा हुने अवरोध वा दुर्घटनाबारे तत्काल सूचना आदानप्रदान गर्न केन्द्रीय सूचना केन्द्र सञ्चालनमा ल्याउने निर्णय भएको केसीले बताए।

बैठकले सम्पूर्ण यात्रुवाहक सवारीसाधनमा प्राथमिक उपचार सामग्री, अग्नि नियन्त्रण उपकरण र पिउने पानीलगायत आवश्यक सामग्री अनिवार्य रूपमा राख्नुपर्ने निर्णय पनि गरेको छ।

चाडपर्वका बेला बसपार्क र टिकट काउन्टरमा यात्रुको चाप बढ्ने भएकाले सुरक्षा निकायलाई प्रभावकारी रूपमा परिचालन गर्ने विषयमा पनि बैठकमा जोड दिइएको थियो। टिकट नपाएर यात्रुले लामो समय बसपार्कमा अलपत्र पर्नुपर्ने अवस्था आउन नदिन टिकट व्यवस्थापन र यात्रुको आवागमनलाई व्यवस्थित बनाउने तयारी गरिएको छ।

यस वर्ष अग्रिम टिकट बुकिङ खुल्ने निर्णयसँगै दसैंमा घर जाने तयारीमा रहेका यात्रुले अब औपचारिक रूपमा टिकट लिन सक्ने भएका छन्। विभागले यात्रुको सुरक्षा, सहज यात्रा र सार्वजनिक यातायातको व्यवस्थापनलाई प्राथमिकतामा राखेर चाडपर्व अवधिभर अनुगमन गर्ने तयारी गरेको छ।

सम्बन्धित समाचार