काठमाडौं । इरानको न्यायपालिकाले इजरायलका लागि जासुसी गरेको अभियोगमा दोषी ठहर भएका एक व्यक्तिलाई सोमबार मृत्युदण्ड दिएको छ ।
‘यहूदी शासन (इजरायल)का लागि गुप्तचरको रूपमा सहयोग गरेको आरोपमा आज बिहान इरानी नागरिक मोहम्मद अमिन महदावी शायेस्तेहलाई फाँसी दिइएको छ,’ इरानको न्यायलयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
शायेस्तेहमाथि इजरायलको विदेशी गुप्तचर संस्था मोसादसँग सम्बन्ध रहेको आरोप लागेको थियो ।
उनलाई इरानी सरकारको आलोचना गर्ने लण्डनस्थित फारसी भाषाको टिभी च्यानल इरान इन्टरनेसनलसँग सहकार्य गरेको अभियोगमा पनि दोषी ठहर गरिएको थियो । इरानले उक्त प्रसारणकर्तालाई इजरायलसँग जोडिएको मानेको छ ।
सन् २०२२ मा महसा अमिनीको हिरासतमा मृत्यु भएपछि देशव्यापी विरोध प्रदर्शनका क्रममा इरानका अधिकारीहरूले उक्त च्यानललाई ‘आतंकवादी संगठन’ को रूपमा वर्णन गरेका थिए ।
इरानी कुर्दिश युवती अमिनीलाई इस्लामिक गणतन्त्रको कडा ड्रेस कोड उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको थियो ।
इरानले विशेषगरी उसको कट्टर शत्रु इजरायलसँग काम गर्ने विदेशी गुप्तचर निकायसँग संलग्न रहेको देखिएका वा आरोप लागेका व्यक्तिलाई पक्राउ गरी राष्ट्रघात गरेको आरोपमा वर्षौं जेल र मृत्युदण्डसमेत दिने घोषणा गर्ने गरेको छ ।
आइतबार अधिकारीले यस्ता कारबाहीलाई तीव्रता दिने प्रतिबद्धता जनाएका थिए । सोही दिन, न्यायपालिकाले मोसादको एजेन्ट भएको आरोपमा दोषी ठहरिएका माजिद मोसायेबीलाई मृत्युदण्ड दिने घोषणा गरेको छ ।