भारतबाट फर्केका थप पाँच जनामा कोरोना संक्रमण

0 Shares

काठमाडौं । गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोनाको संक्रमण देखा परेको छ ।

उक्त नाका हुँदै फर्केका पाँच महिलाको ‘एन्टिजेन’ परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको हो । तीमध्ये तीन जना कैलाली र दुई जना अछामका हुन् ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीका अनुसार भारतबाट फर्केका शंकास्पद ३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

कोरोना संक्रमित पाँचै जनालाई ‘होम क्वारेण्टाइन’मा बस्न परामर्श दिइएको छ । दुई दिनअघि यही नाका भएर भारतबाट आएका ३६ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तीन दिनमा भारतबाट फर्केका आठ जनामा कोराना संक्रमण देखा परेको सूचना अधिकारी जोशीले जानकारी दिए । संक्रमितमा ज्वरो र रुघाखोकीको समस्या रहेको उनको भनाइ छ ।

एन्टिजेनको नतिजा पोजेटिभ आएका आठै जनाको नमूना काठमाडौंस्थित प्रयोगशालामा पठाइएको छ । आपतकालीन सञ्चालन केन्द्रले सीमा नाकामा तीन दिनदेखि ‘हेल्थ डेस्क’ राखेर कोराना परीक्षण गर्दै आएको छ ।

‘पुरानै स्टकमा रहेका किट प्रयोग गरी परीक्षण गर्दै थियौँ, आज थप दुई सय किट प्राप्त भएको छ,’ सूचना अधिकारी जोशीले भने, ‘दुई/तीन दिनभित्रै सीमा नाका गड्डाचौकीमा हेल्थ डेस्क राखेर कोरोना परीक्षण गर्छौं ।’

सम्बन्धित समाचार