कैलालीको ब्यारेकमा ग्रिनेड विस्फोट, घाइते एक सैनिकको मृत्यु

0 Shares

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका ३ स्थित नेपाली सेनाको गोराङ्गे ब्यारेकअन्तर्गत फायरिङ अभ्यासमा ग्रिनेड विस्फोट हुँदा घाइते भएका एक सैनिकको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।

इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार बिहीबार बिहान ९ः१७ बजे सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट मोहन्याल गाउँपालिका ७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा फायरिङ अभ्यास भएको थियो । सोही क्रममा ग्रिनेड पड्काउँदा सेनाका हुद्दा हिमालविक्रम विष्ट गम्भीर घाइते भएका थिए।

विष्टको दाहिने हातको हत्केलामा गम्भीर चोट लागेको थियो । छर्राले शरीरका अन्य भागमा समेत चोट पुगेको प्रहरीले जनाएको छ । घटनास्थल नजिक रहेका सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन् ।

घटनापछि दुवै घाइतेलाई प्रारम्भिक उपचारका लागि गोराङ्गे ब्यारेकमा राखिएको थियो । बिहान १०ः३५ बजे थप उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा विष्टको मृत्यु भएको हो ।

यस्तै, घाइते सहसेनानी जोशीलाई थप उपचारका लागि सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ ।

सम्बन्धित समाचार