भोटेकोशी बाढीमा बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक

0 Shares

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भाटेकोशी बाढीमा परी बेपत्ता भएका भएका ३२ जिल्लाका दुई हजार २९४ जनाको यकिन विवरण सार्वजनिक गरेको छ ।

प्राधिकरणले ३२ जिल्लाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकिन भई आएका विवरण मात्र सार्वजनिक गरेको हो । प्राधिकरणका अनुसार सबैभन्दा बढी रसुवाका एक हजार ५८३ जना रहेका छन् ।

त्यस्तै, धनकुटा, डडेल्धुरा, खोटाङ, भोजपुर, अछाम, कपिलवस्तु, जाजरकोट, सर्लाही, ललितपुर, कैलाली, महोत्तरी, बागलुङ, ताप्लेजुङ, जुम्ला, बाजुरा, कालीकोट, नवलपरासी पूर्व, उपदयुर, काभ्रेपलाञ्चोक, नवलपरासी (पश्चिम), तेह्रथुम, रुकुम (पूर्व), सप्तरी, बर्दिया, स्याङ्जा, रामेछाप, दाङ, सिन्धुपाल्चोक र सिन्धुली बेपत्ताको सूचीमा सार्वजनिक गरिएको छ ।

सात देशका १७१ बेपत्ता नागरिकको विवरण पनि प्राधिकरणले सार्वजनिक गरेको हो । बेपत्ता व्यक्तिको पूर्ण विवरण प्राधिकरणको वेबसाइटमा हेर्न सकिने छ । प्राधिकरणले आज सूचना जारी गर्दै बेपत्ता व्यक्ति जीवित रहेको वा फेला परेको भए निज वा एकाघरको परिवारका तर्फबाट सात दिनभित्र दाबी पेस गर्न आग्रह गरेको छ ।

बेपत्ता व्यक्तिको स्थायी ठेगाना रहेको स्थानीय तहबाट भएको सिफारिसको आधारमा सम्बन्धित जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा स्वदेशी व्यक्तिको सूची प्रकाशन गरिएको हो ।

यस्तै बेपत्ता विदेशी व्यक्तिको हकमा भने सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्ने गरी तोकिएको नियोगबाट कन्सुलर सेवा विभागमार्फत प्राप्त विवरण सार्वजनिक गरिएको हो ।

बत्तीस जिल्लाबाहेकका विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालय र बेपत्ता विदेशी नागरिकको हकमा नियोगबाट सूची प्राप्त भएपछि पुनः सूचना प्रकाशित गरिने प्राधिकरणले जनाएको छ ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी हालसम्म एक हजार ४५७ जनाको मृत्यु भएको छ । बाढीमा पाँच हजार २८५ बेपत्ता भएको प्राधिकरणको तथ्याङ्क छ ।

सम्बन्धित समाचार