चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि भएको मतदान कार्य सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार आज राति १२:०० बजे सुरु भएको मतदान दिउँसो १२:३० बजे सकिएको हो।
चितवन रास्वपाका सभापति मिनीमाधव खनालका अनुसार महाधिवेशनमा कुल चार हजार १०० प्रतिनिधि रहेकामा करिब तीन हजार ९५० मत खसेको अनुमान गरिएको छ। विद्युतीय मेसिन (EVM) मार्फत मतदान गरिएकाले निर्वाचनको अन्तिम परिणाम आगामी दुई घण्टाभित्र सार्वजनिक हुने आयोगले जनाएको छ।
चितवनको भरतपुरमा जारी रास्वपाको ऐतिहासिक पहिलो महाधिवेशनअन्तर्गत पहिलो चरणमा ९९ जना केन्द्रीय सदस्यका लागि मतदान भएको हो। यो प्रक्रिया सकिएसँगै अब दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढ्ने निर्वाचन आयोगले उल्लेख गरेको छ।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार यसरी पहिलो चरणबाट निर्वाचित ९९ जना केन्द्रीय सदस्यहरूले दोस्रो चरणमा हुने निर्वाचनमार्फत पार्टीका नयाँ पदाधिकारीहरू चयन गर्नेछन्। रास्वपाको यो पहिलो राष्ट्रिय महाधिवेशन यही असार ७ गतेदेखि चितवनमा सुरु भएको हो।