काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको तथ्यांकले पनि पछिल्लो समय सर्वसाधारणको रोजाइमा डिजिटल कारोबार तथा भुक्तानी पर्न थालेको देखाएको छ।
क्युआरको थालनी हुँदा मासिक ९ लाखको हाराहारीमा कारोबार भएर साढे ३ अर्ब रुपैयाँको कारोबार हुन थालेकोमा मासिक कारोबार संख्या विस्तारै बढ्दै गएको देखिन्छ । आव ७७/७८ को असारमा साढे ३ अर्बको क्युआर भुक्तानी कारोबार शुरु भएकोमा ०७८/७९ मा १४ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । कारोबार संख्या समेत बढेर ४२ लाख ८२ हजार पुगेको छ ।
२०७९/८० को असारसम्म पुग्दा ९७ लाख ६६ हजार कारोबारमा ३० अर्ब भन्दा बढीको कारोबार पुगेको थियो । चालु आवको फागुन महिनासम्म आइपुग्दा कारोबार संख्या झन्डै १ करोड ४० लाखभन्दा बढी पुगेको छ भने कारोबार रकम साढे ४२ अर्ब रुपैयाँ पुगेको छ ।
पछिल्लो समय संघीय राजधानी काठमाडौंमा मात्रै होइन, ग्रामीण भेगमा रहेका चिया पसलदेखि अन्य पसलमा पनि डिजिटल कारोबार तथा भुक्तानी हुन थालेको छ। काठमाडौं उपत्यकासहित मुलुकका मुख्य सहरहरूमा चिया पसल, तरकारी पसल, किराना पसलदेखि ठूला–ठूला सपिङ मलमा मात्रै होइन सामान्य खालमा भट्टी पसलमा पनि डिजिटल कारोबार तथा भुक्तानीमा वृद्धि भइरहेको छ।पछिल्ला समयमा क्युआरकोड अर्थात् ‘क्विक रेस्पोन्स पेमेन्ट’ सेवा र मोबाइल वालेटमा पनि सर्वसाधारणको मुख्य आकर्षण बन्दै आइरहेको छ।
कोरोना महामारीले अनलाइन कारोबार र क्युआर कोड भुक्तानी सेवालाई बढावा दिएको हो । राष्ट्र बैंकका अनुसार ०७६/७७ को असार महिनामा क्युआर कोडको सुरुवात नै भएको थिएन। सन् २०७७/७८ को असारमा क्युआर कोडबाट कारोबार सुरुवात भएको थियो। सो वर्ष ८ लाख ५५ हजार ५ सय ६६ वटा कारोबार भएको थियो। सो अवधिमा ३ अर्ब ६५ करोड रुपैयाँको भुक्तानी क्युआर कोडमार्फत भएको थियो। तर, क्यूआरकोड मार्फत् कारोबार सुरु भएको तीन वर्ष वर्षकै अवधिमा क्यूआर कोडमार्फत हुने कारोबार र भुक्तानी रकममा उल्लेखनीय रुपमा वृद्धि भएको छ।
राष्ट्र बैंकको तथ्याक अनुसार क्युआर कोडको शुरुवात भएसँगै हरेक महिनाको यसबाट हुने भुक्तानीको आकार र कारोबार संख्यामा वृद्धि हुनै गएको देखिएको छ । आव २०७८/७९ को असारमा ४२ करोड ८१ लाख ९ सय ९४ कारोबारबाट १४ अर्ब ५२ करोडको कारोबार पुगेको थियो । आव २०७९/८० को असारमा क्युआर भुक्तानीको आकार ३० अर्ब १४ करोड पुगेको छ भने कारोबार संख्या समेत ९७ लाख ६६ हजार २ सय १६ पुगेको छ ।
चालु आवमा भने क्युआर कोडबाट भुक्तानीले झनै व्यापकता पाएको छ । नेपाल राष्ट्र बैंकको चालु आवको फागुन महिनाको तथ्यांक अनुसार पनि क्युआरकोडबाट ४२ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएको छ। तुलनात्मक रुपमा नयाँ भुक्तानीको माध्यम भए पनि क्युआर कोडको कारोबार हरेक महिना बढ्दै गइरहेको छ । फागुनमा क्युआर कोडबाट मात्रै १ करोड ४२ लाख ९१ हजार ८ सय ७७ कारोबारमा साढे ४२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको हो ।