सञ्जय थापा
काठमाडौं । नेपाली कांग्रेस नेता एवं गृहमन्त्री रमेश लेखक बोल्दा नछुट्ने शब्दमा हुन् ‘लोकतन्त्र, विधिको शासन र न्याय’ । सालिन नेताको छवि बनाएका लेखक पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेटिङमा ‘भिजिट भिसा’मार्फत दैनिक ५० लाख असुलेको आरोपमा मुछिएपछि चौतर्फी आलोचनाको केन्द्रमा छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिने लेखकलाई शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गृहमन्त्रीले राजीनामा दिएर छानबिनलाई सघाउनुपर्ने मत राख्ने गरेका छन् । पार्टी सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको दरो साथ पाएपछि लेखक राजीनामा दिनबाट हच्किएका छन् ।
लेखकको चौतर्फी विरोध भएपछि राजीनामा दिन तम्सिँदा देउवा र ओलीले रोकेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले यसअघि बसेको पदाधिकारी बैठकमा ब्रिफिङसमेत गरेका थिए । सो बैठकमा प्रचण्ड गृहमन्त्रीको राजीनामालाई आधार बनाएर संसदलाई प्रभावकारी बनाउन निर्देशन दिएका थिए ।
प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), नेकपा एकीकृत समाजवादी पार्टीलगायत दलले गृहमन्त्रीको राजीनामालाई प्रमुख बटम लाइन बनाएका छन् । आगामी जेठ २० गतेदेखि संसद बैठक बोलाएकाले चल्न नदिने प्रतिपक्ष दलले चेतावनी दिइसकेका छन् ।
संसदलाई प्रभावकारी बनाउने बारेमा माओवादी केन्द्रले भोलि (सोमबार) संसदीय दलको बैठक बोलाएको छ । सरकार भ्रष्टाचार, अनियमिता र घुसखोरीलाई प्रशय दिएको भन्दै प्रतिपक्ष दलले त्यसैलाई मुद्दा बनाएर संसद अवरोध राख्ने नीति लिएका छन् ।
यसअघि अर्थमन्त्रीको जिम्मेवारीमा रहँदा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मालाई व्यापारीको स्वार्थमा करका दर हेरफेर गरेको भन्दै तत्कालीन प्रतिपक्ष एमालेलगायत दलले आलोचना गर्दै संसद अवरोध जारी राखे ।
अन्तमा शर्माले नैतिकताका आधारमा राजीनामा दिएर छानबिनलाई सघाएका थिए । उनको विषयमा छानबिन समिति बनेपछि केही प्रमाण नभेटिएपछि सफाइ पाए । उनले सफाइ पाएपछि पुनः अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्न पुगेका थिए ।
यस्तै तत्कालीन गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेको सहकारीको रकम हिनामिना गरेको आरोप लागेपछि नैतिकता देखाउँदै राजीनामा दिएका थिए । तत्कालीन प्रमुख प्रतिपक्ष कांग्रेसले लामिछानेले राजीनामा दिनुपर्ने भन्दै संसद अवरोध जारी राखे । संसद चल्न नदिएपछि लामिछानेले राजीनामा दिएर छानबिन समिति बनेको थियो ।
यसरी शर्मा र लामिछानेबाहेकले नैतिकताका आधारमा राजीनामा दिएको पहिलो घटना भने होइन् । यसअघि थुप्रै मन्त्रीले आफूमाथि लागेको आरोपसँगै नैतिकताका आधारमा पदीय जिम्मेवारीबाट राजीनामा दिएका थिए । सबैभन्दा बढी नैतिकताको पाठ पढाउने गृहमन्त्री लेखक आफै प्रश्नको घेरामा बसेर कर्मचारीले अनियमितता गर्दा मैले किन राजीनामा दिने ? भन्दै प्रश्न गर्न थालेका छन् । ‘म भ्रष्टाचार गर्दिनँ, अरुलाई भ्रष्टाचार गर्न पनि दिन्नँ’ भन्ने ओली सरकारका गृहमन्त्रीमा नैतिकताका खडेरी सबैले प्रष्टसँग देख्ने अवसर पाएका छन् ।
यसरी गृहमन्त्रीलाई भिजिट भिसा प्रकरण जस्तो गम्भीर मानव तस्करीको घटनामा प्रश्न उठेपछि राजीनामा दिनु उपयुक्त हुने माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री रेखा शर्माले तर्क छ । अनुसन्धान गर्ने अख्तियार दुरुपयोग अनुसन्धन आयोगको डिआईजीको समेत सरुवा गरेको विषय बाहिर आएपछि गृहमन्त्रीमाथि थप आशंका बढेको उनको भनाइ छ ।

‘गृहमन्त्रीबारे सबैतिरबाट प्रश्न उठिसक्यो, यस्तो अवस्थामा अनुसन्धान गर्न दिएर केही नभेटिए निर्दोष सावित हुने कुरा भयो, यदि दोषी भए सजायको भागिदार बन्नुपर्छ,’ उनले भनिन्, ‘उहाँहरूले हिजो उठाएको तर्कलाई आधार मान्दा गृहमन्त्री मातहतमा रहेका अनुसन्धान गर्ने निकाय छन्, कुनै व्यक्ति पदीय हैसियतमा हुँदा अप्ठ्यारो हुन्छ, यस्तो अवस्थामा गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानलाई सघाउनु उपयुक्त हुन्छ ।’ यदि, गृहमन्त्री निर्दोष भएमा आमजनताले बुझ्ने गरी सफाइ पाएर आउन कसैले नछेक्ने शर्माले बताइन् ।
तर, नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले हल्लाको भरमा गृहमन्त्रीले राजीनामा दिन नमिल्ने तर्क गरे । आरोप लग्नेबित्तिकै मन्त्रीले राजीनामा दिएमा प्रवृत्तिकै रुपमा आगामी दिनमा अरू मन्त्रीलाई गाह्रो हुने तर्क छ ।

‘पार्टीले बैठक बसेर गृहमन्त्रीले कतै हस्तक्षेप नगर्ने र राजनीनामा पनि नदिने भन्ने छ,’ उनले भने, ‘गृहमन्त्रीको बारेमा प्रमाणहरु भेटिएका छैनन्, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्पक्ष रुपमा अनुसन्धान गरी रहेको छ, यदि आधिकारिक निकायबाट प्रमाण भेटिए कारबाही भइहाल्छ ।’ कसैको राजीनिक भविष्य सिध्याउन नियोजित रुपमा चलाएको हल्लाको भरमा गृहमन्त्रीले राजीनामा नदिने उनले प्रष्ट पारेका छन् ।
यसरी हुने गरेको थियो सेटिङ
अख्तियारले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई पक्राउ गरेपछि भिजिट भिसाको सम्पूर्ण पोल खुलेको हो । यसअघि कांग्रेसबाट विवादास्पद पृष्ठभूमि भएका सहसचिव भट्टराईलाई गृहमन्त्री लेखककै रोजाइअनुसार गत २३ असोजमा विमानस्थलको अध्यागमन प्रमुख बनाइएको थियो ।
उनी गएलगत्तै अध्यागमनमा सेटिङ बढेको हो । दिनमै औसत ५० लाखसम्म उठाउन थालेको सूचनाका आधारमा अख्तियारले छापा हानेको हो । उक्त पैसा तहगत रूपमा गृह मन्त्रालयसम्म पुग्ने गरेको सूचना अख्तियारले पत्ता लगाएको हो । अख्तियारले छापा हान्नु अघिल्लो दिन गृहमन्त्रीले उनलाई सुटुक्क मन्त्रालयमा सरुवा गरेका थिए ।
विमानस्थलस्थित अध्यागमन कार्यालयबाट भिजिट भिसामा हुने असुली संगठित र संस्थागत रूपमै गृह मन्त्रालयबाटै चल्ने गरेको अख्तियारको प्रारम्भिक छानबिनमा देखिएको थियो । सेटिङमा संलग्न कर्मचारी मात्र नभई बिचौलियाको समेत गृहमन्त्री लेखकको सचिवालयसम्म सीधा सम्पर्क भेटिएको खुलासा भएको छ । बिचौलियाका मोबाइलबाट संवाद र बैंकिङ कारोबारको तथ्य सार्वजनिक हुने त्रासले गृह मन्त्रालयमा हलचल मच्चिएको छ ।