कांग्रेसलाई गृहमन्त्री कहिँलै नफाप्ने

0 Shares

संजय थापा

काठमाडौँ । २०४६ सालको राजनीतिक परिवर्तनपछि देशमा २८ जना गृहमन्त्रीले जिम्मेवारी सम्हाली सके । हालका गृहमन्त्री रमेश लेखक नेपाली कांग्रेसबाट हुने २८ औँ गृहमन्त्री हुन् । अहिलेसम्म भएका २८ गृहमन्त्रीमध्ये कांग्रेसबाट १० जना गृहमन्त्री भई सकेका छन् ।

कांग्रेसबाट गृहमन्त्री भएका पाँच जना भ्रष्टाचार र अनियमिततामा मुछिएका छन् । कतिपय कांग्रेसकै नेताहरुले कांग्रेसलाई प्राय गृहमन्त्रालय नफाप्ने गरेको भन्दै ब्याङग्यत्मक रुपमा टिप्पणी गर्ने गरेका छन् । अहिलेसम्म कांग्रेसबाट गृहमन्त्री हुनेमा योगप्रसाद उपाध्याय, शेरबहादुर देउवा, खुमबहादुर खड्का, गोविन्दराज जोशी, पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छादार, विमलेन्द्र नीति, बालकृष्ण खाण भई सकेका छन् ।

जसमध्ये खड्का र जोशी भ्रष्टाचार गरेको अभियोग लागेर जेल सजाय भोगी सकेका छन् । खड्काको यसअघि निधन समेत भई सकेको छ । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाण नेपाली नागरिकलाई भुटानी शरणानार्थी बनाएर अमेरिका लग्ने जस्तो जघन्य अपराध गरेको अभियोगमा सात महिना जेल बसेर ४५ लाख धरौटी बुझाए रिहा भएका हुन् । मानव तस्करी गरेको अभियोगमा रिहा भएपनि त्यस बारेको अनुसन्धान जारी छ ।

यस्तै नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री विजयकुमार गच्छादार बालुवाटार जग्गा प्रकरणमा अनियमितता गरेको अभियोगमा मुदा जारी छ । सरकारी जग्गालाई व्यक्तिको नाममा लग्न प्रत्यक्ष संलग्न भएको अभियोग उनी माथि लाग्ने गरेको छ । अरु उनले अकुत सम्पत्ति आर्जन गरेको अभियोग सार्वजनिक बृत्तमा उठ्ने गरे पनि शक्तिशाली नेता भएकै कारण छानबिन गर्ने आट कसैले गर्न सकेको छैन । अरु कांग्रेसबाट गृहमन्त्री भएका नेताको सामान्य विवाद भए पनि भ्रष्टाचार र अनियमितताको कुनै अभियोग लागेको छैन ।

अहिले नेपाली कांग्रेसका नेता एवं बहालवाल गृहमन्त्री रमेश लेखकलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भिजिट भिसा मार्फत सार्वसाधरणबाट दैनिक लाखौ असुलीमा संलग्न भएको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तिर्थराज भट्टराईलाई पक्राउ गरेपछि भिजिट भिषाको सम्पूर्ण पोल खुलेको हो । यसअघि काग्रेसबाट विवादास्पद पृष्ठभूमि भएका सहसचिव भट्टराईलाई गृहमन्त्री लेखककै रोजाइअनुसार गत २३ असोजमा विमानस्थलको अध्यागमन प्रमुख बनाइएको थियो । उनी गएलगत्तै अध्यागमनमा सेटिङ बढेको हो । दिनमै औसत ५० लाखसम्म लेनदेन हुन थालेको सूचनाका आधारमा अख्तियारले छापा हानेको हो । सो पैसा तहगत रूपमा गृह मन्त्रालयसम्म पुग्ने गरेको सूचना अख्तियारले पत्ता लगाएको हो ।

विमानस्थलस्थित अध्यागमन कार्यालयबाट भिजिट भिसामा हुने असुली संगठित र संस्थागत रूपमै गृह मन्त्रालयबाटै चल्ने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक छानबिनमा देखिएको थियो । सेटिङमा संलग्न कर्मचारी मात्र नभई बिचौलियाको समेत गृहमन्त्री लेखकको सचिवालयसम्म सिधा सम्पर्क भेटिएको खुलासा भएको छ । बिचौलियाका मोबाइलबाट संवाद र बैंकिङ कारोबारको तथ्य सार्वजनिक हुने त्रासले गृह मन्त्रालयमा हलचल मच्चिएको छ ।

भिजिट भिषा मार्फत करोडौ रकम असुलीमा गृहमन्त्रीको संलग्नताका बारेमा ब्यापक विरोध भएपछि आफैं अनुसन्धानको घेरामा रहेका सहसचिव छवि रिजालका नाममा विज्ञप्ति निकाल्न लगाएर ‘मन्त्रालयको नेतृत्व संलग्न छैन’ भनेर अभिव्यक्ति दिएका छन् । लगत्तै धनुषामा भएको एक कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले आफ्ना विरुद्ध नियोजित र षड्यन्त्रपूर्वक ढंगबाट झूटा प्रचारबाजी भइरहेको प्रतिक्रिया दिए । उनले कर्मचारीमाथि अनुसन्धान हुँदैमा मन्त्रीले राजीनामा दिँदै जाने हो भन्दै उल्टै प्रश्न गरे । ‘मैले जीवनभरि राजनीति गर्दा पार्टीका कुनै पनि साथीको मन सानो हुने र शिर निहुरिने काम गर्दिनँ,’ उनले भने, ‘जुन दिन मेरो हातबाट गलत काम हुन्छ, त्यसै दिनदेखि म राजनीतिमा देखा पर्दिनँ ।’

गृहमन्त्रीमाथि सर्वसाधरणदेखि मिडियाले उठाएपछि नैतिक संकट हुने नेपाली कांग्रेसकै वरिष्ठ नेता शेखर कोइरालाले बताएका छन् । गृहमन्त्री माथि अनियमितताको आरोप लागेपछि अनुसन्धानलाई सघाउन समेत लेखकले राजीनामा दिनुपर्ने कोइरालाको तर्क छ । ‘राजनीतिमा नैतिकता भन्ने कुरा पनि त हुन्छ नि, गृहमन्त्रीको संलग्नता नहोला तर इस्यु आइसकेपछि आफू स्वच्छ छु भनेर देखाउन पनि राजीनामा दिएर अनुसन्धानलाई सघाउनुपर्छ : कोइरालले भनेका छन् ।

यस्तै शनिबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय र केन्द्रीय समिति बैठक बसेर गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग राखेको छ । रास्वपा सचिवालयको ’भर्चुअल’ बैठकले भिजिट भिसा प्रकरण मुछिएका उनलाई तत्काल राजीनामा दिएर अनुसन्धानमा सघाउन आग्रह गरेको छ । ‘विगतमा सांसद रमेश लेखकले नै सदनमा ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’ भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौं,’ कार्यवाहक प्रवक्ता मनीष झाले बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै यस मुद्दालाई लिएर आगामी दिनमा सदन अवरुद्ध हुँदा, त्यसले उत्पन्न गर्ने नेपाली राजनीतिप्रति घृणाको कारक नहुन पनि सुझाव दिन्छौं।’ गृहमन्त्री र उनका सचिवालयमाथि ‘भिजिट भिसा’मार्फत् मानव तस्करीमा संलग्न रहेको आरोप लागिरहेको छ।

सम्बन्धित समाचार