सहकारीको डेढ अर्ब हिनामिना गर्ने एमालेका मेयरलाई २० लाख धरौटीमा छाड्न आदेश

0 Shares

काठमाडौं । जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश कृष्णजंग शाहको एकल इजलासले नेपालीलाई धरौटीमा छाड्न आदेश दिएको हो । तर, उनले तोकिएको धरौटी रकम बुझाएका छैनन् । बागलुङ प्रहरी हिरासतमा रहेका उनलाई धरौटी नबुझाएको भन्दै थुनामा राख्न पत्राचार गरेको जनाएको छ ।

उनलाई इमेज बचत तथा ऋण सहकारी संस्थाको एक हजार पाँच सय बचतकर्ताको रकम ठगी प्रकरणमा जिल्ला अदालत बागलुङले थुनामा पठाउने आदेश दिएको थियो ।

उनीविरुद्ध कास्की जिल्लामा सूर्यदर्शन सहकारीसम्बन्धी अर्को ठगी मुद्दा पनि दायर गरिएको छ । कास्की अदालतका अनुसार उनलाई आइतबार अदालतमा उपस्थित गराउन पत्र पठाइएको छ ।

उनविरुद्ध बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको मुद्दा दायर भएको थियो । उनीसहित ११ जनाविरुद्ध २०८० असार २५ गते जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

नेपाली २०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट मेयरमा निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार