काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको आईपीओ भर्ने १७ लाख १६ हजार ४७७ भन्दा धेरैको हात खाली हुने भएको छ । अन्तिम दिनसम्म कम्पनीको आईपीओमा १३.२७ गुणा बढी आवेदन परेको छ ।
नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले फागुन ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ)मा आवेदन दिने आज (फागुन १५ गते) अन्तिम दिन रहेको थियो।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा इन्स्योरेन्सको आईपीओमा १९ लाख ९७७ जनाको आवेदन परेको छ । यस कम्पनीमा आवेदकले २ करोड ४४ लाख ८३ हजार २२० कित्ता बराबर २ अर्ब ४४ करोड ८३ लाख २२ हजार रुपैयाँ बराबरको आईपीओ माग गरेका हुन् ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, कम्पनीका कर्मचारीहरु र सामूहिक लगानी कोषहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अहिले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको थियो।
कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो भने कर्मचारीहरुका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरुलाई १ लाख १२ हजार ५०० कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ। कम्पनीले अब दोस्रो चरणमा बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो।