कर्मचारीले छ महिनादेखि पाएनन् तलब, काम गर्न अन्योल

0 Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका सीमानाकामा सञ्चालनमा रहेका ‘हेल्थ डेस्क’का कर्मचारीले छ महिनादेखि बिना तलब काम गरिरहेका छन् ।

कोरोना भाइरसको महामारीका बेलादेखि कार्यरत आफूहरुलाई स्वास्थ्य निर्देशनालयले नियमित रुपमा कामको तलब नदिएको कर्मचारीको गुनासो छ । तलब नपाउने यी कर्मचारी करार सेवामा कार्यरत रहेका छन् ।

कैलालीको त्रिनगर सीमानाकास्थित हेल्थ डेस्कका अहेब गणेश साउदले सुदूरपश्चिम प्रदेशका त्रिनगर, गड्डाचौकी, पुलघाट, झुलाघाट, खक्रौलालगायतका सीमानाकाका हेल्थ डेस्कका कर्मचारीले छ महिनादेखि तलब नपाएको बताए ।

पारिश्रमिक नपाउनेमा त्रिनगर हेल्थ डेस्कका १० कर्मचारीसहित प्रदेशका सबै सीमानाकामा गरी जम्मा २७ कर्मचारी छन् । “करारमा कार्यरत कर्मचारीको म्याद थपिएको पनि छैन, निर्देशनालयले काम गर्न खटाएपछि लगनशीलताका साथ काम गरिरहेका छौँ, तलब नपाउँदा अन्योल भएको छ”, हेल्थ डेस्कका कर्मचारीको भनाइ छ ।

त्रिनगर हेल्थ डेस्कमा कार्यरत कर्मचारीलाई सुरुको अवस्थामा कञ्चनपुरको पुनर्वास नगरपालिकाले सङ्घीय सरकारको बजेटबाट तलब खुवाएको थियो । त्यसपछिको समयमा सङ्घबाट बजेट नआए पनि नगरपालिकाले आफ्नै बजेटबाट तलब खुवाएको थियो ।

कोरोना भाइरसको महामारीको बेला स्वास्थ्यका कर्मचारीलाई दिइएको जोखिम भत्तासमेत यी कर्मचारीले पाएका थिएनन् । त्यति बेला पनि शुद्ध तलबबाहेक अन्य कुनै सुविधा नपाएको कर्मचारीको गुनासो छ । विगतमा देखिएको कोरोनाको महामारीका समयदेखि प्रदेश सरकारले सीमानाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याएको थियो ।

हेल्थ डेस्कमा कोरोना भाइरस, एचआइभी, क्षयरोग, मलेरिया, डेङ्गु, कालाजार, स्क्रब टाइफस रोगको नमूना जाँच हुने गरेको छ । यसबाहेक प्राथमिक उपचारको सेवाका साथै सीमामा अलपत्र परेको बेसहारा नागरिकको उद्धारको कामसमेत गर्ने गरिएको छ ।

स्वास्थ्य निर्देशनालय दीपायलका निर्देशक डा जगदीश जोशीले बजेटका लागि अर्थ मन्त्रालयसँग स्वास्थ्यसेवा विभागले समन्वय गरिरहेको र विभागले हेल्थ डेस्कका कर्मचारीलाई तलबका लागि बजेट पठाउने अश्वासन दिएको बताए ।

सम्बन्धित समाचार