काठमाडौं । इण्डियन प्रिमियर लिग २०२४ (आईपीएल)को सातौं खेल आज गत वर्ष फाइनलमा पुगेको चेन्नई सुपर किंग्स (सीएसके) र गुजरात टाइटन्स (जीटी)बीच हुने भएको छ ।
खेल चेन्नईको एमए चिदम्बरम स्टेडियममा साँझ ७ः३० बजे सुरु हुनेछ । टस साँझ ७ बजे हुनेछ । यी दुई टोलीबीच सन् २०२३ को आईपीएल सिजनको फाइनल खेल भएको थियो । गुजरात पाँच विकेटले पराजित भएको थियो ।
यो सिजन दुवै टोलीको दोस्रो खेल हुनेछ । दुवैले उद्घाटन खेलमा जितसँगै सुरुवात गरेका थिए । चेन्नईले आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र गुजरातले मुम्बई इन्डियन्सलाई हराएको थियो ।
चेन्नई लिगको सफल टोली हो । टोलीले पाँच उपाधि जितेको छ । कूल १० फाइनल खेलेको छ । टोलीले १६ सिजनमध्ये १४ खेलेमा दुई पटक मात्र प्लेअफमा पुग्न सकेन ।
अर्कोतर्फ, गुजरातले पहिलो पटक २०२२ मा आईपीएल खेलेको थियो । पहिलो सिजनमा उपाधि पनि उचालेको थियो । टोली गत सिजन उपविजेता बनेको थियो ।
चेन्नईमाथि गुजरातले अग्रता लिएको छ । आईपीएलमा हालसम्म यी दुई बीच पाँच खेल भइसकेका छन् । जसमा गुजरातले ३ र चेन्नईले २ खेल जितेका छन् ।