भारतले प्याज निर्यातमा प्रतिबन्ध लम्बायो, नेपालमा मूल्य बढ्न सक्ने

0 Shares

काठमाडौँ । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध फेरि लम्ब्याएको छ । भारत सरकारले अनिश्चितकालका लागि प्रतिबन्ध लम्बाएको हो । भारतको यो कदमले आमनिर्वाचन अघि नेपाली बजारमा प्याजको भाउ बढ्न सक्छ ।

विश्वको सबैभन्दा ठूलो प्याज निर्यातक भारतले डिसेम्बरमा लगाएको प्रतिबन्ध यही चैत १८ गते अर्थात मार्च ३१ मा सकिँदै छ। यसअघि निकासीमा प्रतिबन्ध लगाएपछि स्थानीय मूल्य आधाले घटेको र यो सिजनको उत्पादनको नयाँ आपूर्ति पनि आएकाले यसलाई हटाउने अनुमान व्यापारीहरूले गरेका थिए ।

भारत सरकारले शुक्रबार राति जारी गरेको आदेशमा अर्को सूचना नआएसम्म प्याज निकासीमा लगाइएको प्रतिबन्ध यथावत रहने जनाएको छ । सबैभन्दा ठूलो प्याज उत्पादन गर्ने राज्य महाराष्ट्रका केही थोक बजारहरूमा प्याजको मूल्य डिसेम्बरमा ४,५०० भारतीय रुपैयाँबाट घटेर प्रति १०० किलोग्रामको १,२०० भारूमा झरेको छ।

अप्रिल १९ देखि सात साताभित्र मुलुकमा आम निर्वाचन हुने भएको छ । नेपाल लगायत बंगलादेश, मलेसिया र युएई जस्ता राष्ट्रहरू आफ्नो प्याज आपूर्तिको आवश्यकता पूरा गर्न भारतबाट आयातमा निर्भर रहेका छन्। यी मध्ये धेरै राष्ट्रहरू यो प्रतिबन्ध पछि उच्च मूल्यसँग संघर्ष गरिरहेका छन्।

 

चीन वा इजिप्ट जस्ता प्रतिद्वन्द्वी मुलुकहरू भन्दा कम समयमा नै भारतले कैयौं बजारहरूमा प्याज आयात गर्ने व्यापारीहरूको अनुमान रहेको छ। एसियाली मुलुकहरूले आयात गर्ने प्याजमध्ये आधाभन्दा बढी भारतको हिस्सा ओगटेको छ।

भारतले २०२३ को मार्च ३१ मा समाप्त भएको आर्थिक वर्षमा रेकर्ड २५ लाख मेट्रिक टन प्याज निर्यात गरेको थियो।

नेपाली बजारमा सोमबार प्याजको थोक मूल्य प्रतिकिलो ७२ रूपैयाँ ८० पैसा तोकिएको छ । कालीमाटी बजार समितिको दैनिक मूल्य सूची अनुसार एक किलोको अधिकतम ७५ रूपैयाँमा खरिदबिक्री भइरहेको छ ।

सम्बन्धित समाचार