काठमाडौं । रौतहटको परोहा नगरपालिका ९ बस्ने शिव मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली प्रहार गर्ने तीन जना पक्राउ परेका छन् ।
गोली प्रहार गर्नेमा संलग्न भारत बिहार पूर्वी चम्पारण मोतिहारी दिपही २ बस्ने १८ वर्षीय किशोर पक्राउ परेका छन् । उनीसहित थप दुई जनासमेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
शुक्रबार दिउँसो भएको घटनामा साह घाइते भएका छन् । काउन्टरमा काम गरिरहेको अवस्थामा अपरिचित व्यक्तिहरूले उनीमाथि गोली प्रहार गरी फरार भएका थिए ।
उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी रामपुरखापबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
साथै गोली प्रहारबाट घाइते भएका नितेशलाई प्रादेशिक अस्पताल गौर लगिएकोमा थप उपचारको लागि वीरगञ्ज रिफर गरिएको छ । उनीहरूको साथबाट कटुवा पेस्तोल एक थान र बीआर ०६ सिएल ९७९६ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।