काठमाडौं । डडेलधुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा तीन जना जनप्रतिनिधि पक्राउ परेका छन् ।
कार्यपालिका बैठक चलिरहेको बेला विवाद उत्पन्न हुँदा जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट गरेको आरोपमा नगरपालिकाका उपप्रमुख विमलाकुमारी बोहरा, ७ नम्बर वडाका अध्यक्ष कर्णबहादुर धामी, १ का वडाध्यक्ष लालबहादुर धामीलाई पक्राउ गरेका छन् ।
तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । कार्यपालिका सदस्यले बैठकमा नेकपा माओवादीबाट निर्वाचित जनप्रतिनिधिले विरोध गर्दै जोशीमाथि कुटपिट गरेका हुन् ।
माओवादी केन्द्रबाट विजयी भएर कार्यपालिका सदस्य बनेकाले धेरै पहिलेदेखि शिक्षा शाखा अधिकृत लक्ष्मी विष्टको काज फिर्ता गर्नु पर्ने माग गरेका थिए ।
बैठकमा उनीहरुले सोही माग राखेपछि प्रमुख प्रशासकीय अधिकृत जोशीले उक्त कुरा आफूहरुले गर्न नसक्ने बताएका थिए । सोही विषयमा आक्रोशित भएका सदस्यहरुले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेका थिए ।
जनप्रतिनिधिका आक्रमणमा परी हाकिमको टाउको गम्भीर चोट लागेको छ । जोशीको टाउकोमा तीन वटा टाका लागेको छ । घटनापछि स्थानीय कर्मचारी आन्दोलित भएका छन् । उनीहरूले विज्ञप्ति निकालेर दोषीमाथि कारबाहीको माग गरेका छन् ।