ट्रम्पलाई युक्रेनदेखि रुसका नेताहरूले दिए बधाइ, कुन नेताले के भने ?

0 Shares

काठमाडौँ । अमेरिकी रिपब्लिकनका डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसमाथि विजय प्राप्त गरेको बताउँदै विश्वका नेताहरूले बधाई दिएका छन् ।

राष्ट्रपतीय निर्वाचनको मत परिणामबारे औपचारिक रूपमा घोषणा हुन बाँकी भए पनि उनलाई निर्वाचित भएसँगै बधाइ दिन सुरू भएको हो । युरोपेली संघकी प्रमुख उर्सुला भोन डेर लेयेनले ट्रम्पलाई बधाई दिँदै वासिङ्टन र ब्रसेल्सले ‘बलियो ट्रान्सएटलान्टिक एजेण्डा’मा मिलेर काम गर्ने आशा व्यक्त गरे ।

उनले भने, “म डोनाल्ड जे ट्रम्पलाई हार्दिक बधाई दिन्छु, इयू र अमेरिका असल मित्रभन्दा माथि एकअर्काका भरपर्दा सहयोगी पनि हुन्, हामी हाम्रा जनताबीचको साँचो साझेदारीमा बाँधिएका छौँ, जसले ८० करोड नागरिकलाई एकतामा बाँधेको छ ।”

त्यसैगरी, उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)का प्रमुख मार्क रुटले ट्रम्पलाई बधाई दिँदै सत्तामा पुनरागमनले गठबन्धनलाई ‘बलियो’ राख्न मद्दत पुग्ने बताए ।

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले ट्रम्पलाई बधाई दिँदै भने, “हामीले आगामी चार वर्षसम्म सम्मान र महत्वाकांक्षाका साथ उहाँसँग काम गर्न तयार छौँ ।”

अमेरिकी राष्ट्रपतीय निर्वाचन परिणाममा अग्रता कायम गरिरहेको अवस्थामा नै सामाजिक सञ्जाल ‘एक्स’मा म्याक्रोँले थपे, “तपाईंको र मेरो सम्बन्धले थप शान्ति र समृद्धिका लागि विश्वासको लेखाजोखा गर्ने छ ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पको ‘चुनावी विजय’को प्रशंसा गरे । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “मेरो मित्र डोनाल्ड ट्रम्प तपाईंको ऐतिहासिक चुनावी विजयका लागि हार्दिक बधाई छ ।”

परिणाम ट्रम्पको पक्षमा देखिएसँगै चीनले अमेरिकासँग ‘शान्तिपूर्ण सहअस्तित्व’को आशा गरेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित ब्रिफिङमा भने, “हामी पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवै पक्षको हितका लागि सहकार्यको सिद्धान्तमा आधारित चीन–अमेरिका सम्बन्धलाई निरन्तरता दिने छौँ ।”

त्यसैगरी, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘प्रभावशाली विजय’का लागि बधाई दिँदै आफ्नो कार्यकालले युक्रेनमा न्यायोचित शान्ति ल्याउने विश्वास व्यक्त गरे ।

“म राष्ट्रपति ट्रम्पको विश्वव्यापी मामिलामा ‘शक्तिको माध्यमबाट शान्ति’ दृष्टिकोणको प्रतिबद्धताको सराहना गर्दछु, यही सिद्धान्तले युक्रेनमा न्यायोचित शान्ति ल्याउन सक्छ,” जेलेन्स्कीले भने ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई पूर्वअमेरिकी नेताका लागि ऐतिहासिक पुनरागमन र अमेरिका–इजरायल गठबन्धनको नयाँ सुरुवात भएको बताए ।

उनले भनेका छन्, “इतिहासको सबैभन्दा ठूलो पुनरागमनको लागि बधाई, ह्वाइट हाउसमा तपाईंको ऐतिहासिक पुनरागमनले अमेरिकाका लागि नयाँ सुरुवात प्रदान गर्दछ र इजरायल र अमेरिकाबीचको महान् गठबन्धनप्रति एक शक्तिशाली पुनः प्रतिबद्धता प्रदान गर्दछ, यो ठूलो विजय हो ।”

यसैबीच रूसी प्रशासनिक केन्द्र क्रेमलिनले बुधबार अमेरिकी राष्ट्रपति चुनावमा विजयी भएको दाबी गरेका डोनाल्ड ट्रम्पको कदमलाई मूल्यांकन गरी समर्थन वा आलोचना गर्ने जनाएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारसँग भने, “हामी ठोस कदम र ठोस शब्दका आधारमा निष्कर्ष निकाल्ने छौँ ।” ट्रम्पलाई चुनावमा विजयी भएपछि बधाई दिने राष्ट्रपतिको योजनाबारे आफूलाई जानकारी नभएको उहाँको भनाइ थियो ।

सम्बन्धित समाचार