काठमाडौँ । ब्रिक्स सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुसको काजान सहर पुगेका छन् । उनले रुसी राष्ट्रपति पुटिनसँग द्विपक्षीय वार्ता गरेका छन् ।
यस क्रममा पुटिनले भने, ‘हाम्रो सम्बन्ध यति राम्रो छ कि मैले अनुवादकविना बोलेको कुरा तपाईले बुझ्नु हुन्छ । योसँगै प्रधानमन्त्री मोदीले युक्रेन युद्धमा भारतको अडान कायम राखेका छन् । उनले थपे, ‘हरेक समस्या शान्तिपूर्ण रुपमा समाधान गर्नु पर्छ ।’
प्रधानमन्त्री मोदी पछिल्लो चार महिनामा दोस्रो पटक रुस पुगेका हुन् । यसअघि जुलाईमा रुस गएका बेला उनले पुटिनलाई बम, बन्दुक र गोलीले शान्ति सम्भव नहुने सल्लाह दिएका थिए । त्यसपछि उनी युक्रेन भ्रमणमा पनि गए ।
यसअघि मोदी विमानस्थल पुग्दा उनलाई लड्डू, रोटी र नुन खुवाएर स्वागत गरिएको थियो । उनले एनआरआईसँग पनि भेट गरे । त्यसपछि कजानको होटल पुगेर उनले भारतीय पहिरन लगाएका रुसी कलाकारहरुको नृत्य हेरेका थिए ।
प्रधानमन्त्री मोदी यसअघि जुलाईमा भारत-रुस शिखर सम्मेलनमा सहभागी हुन पुगेका थिए । उनी आज साँझ ब्रिक्स नेताहरूसँगको रात्रिभोजमा सहभागी हुने छन् । रात्रिभोजको क्रममा उनले धेरै नेताहरूसँग अनौपचारिक कुराकानी गर्ने भएका छन् ।
भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री मोदीले बुधबार ब्रिक्स बैठकमा भाग लिने छन् । यो दुई सत्रमा आयोजित हुनेछ । बिहान सबभन्दा पहिले क्लोज प्लानरी अर्थात् बन्द कोठामा छलफल हुनेछ । त्यसपछि साँझ खुला सभा हुनेछ । यस अवधिमा प्रधानमन्त्री मोदीले धेरै नेताहरूसँग द्विपक्षीय वार्ता पनि गर्नेछन्।
रुसले जुलाई ९ मा मस्कोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई देशको सर्वोच्च सम्मान ‘अर्डर अफ सेन्ट एन्ड्रयु द अपोसल’बाट सम्मानित गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिन स्वयंले उनलाई सम्मान गरेका थिए ।