काठमाडौँ । ग्लोबल आईएमई बैंकले ‘फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म’ सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक ग्राहकले अनलाइनबाट शेयर धितो कर्जाको लागि आवेदन दिन सक्ने छन् ।
बैंकले सार्वजनिक गरेको यस प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको शेयर धितो राखेर सरल प्रकृयाबाट शेयर धितो कर्जा प्राप्त गर्न सक्ने भएका हुन् । ग्राहकहरूले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्ने छन् ।
यस प्रकृयामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैँले जानकारी लिन समेत सक्ने छन् । यो शेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम ५ देखि अधिकतम २५ लाखसम्म तोकिएको छ ।
यो कर्जाको निमित्त धितोको रुपमा स्वीकार गरिने शेयरहरू निवेदक स्वयमको हुनु पर्नेछ । निवेदकबाहेक अन्य व्यक्तिको शेयरहरू धितोको रुपमा स्वीकार गरिने छैन । यो सुविधा बैंकले हालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ ।
ग्लोबल आईएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ख्याति प्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरक-फरक विधामा समेत बैंक सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका सबै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजारभन्दा बढी सेवा केन्द्र रहेका छन् ।
ग्लोबल आइएमई बैंक सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैंक हो । जसले विभिन्न सेवा तथा सुविधासहित योजनामार्फत आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।