काठमाडौँ । नेपाल राष्ट्र बैंकले दशैंको लागि आज असोज १३ गतेदेखि सुकिला नोट वितरण गर्ने भएको छ । हरेक वर्ष दसैँका लागि नयाँ नोट साट्दै आएको नेपाल राष्ट्र बैङ्कले यस पटक सुकिला नोट मात्र दिने भएको हो ।
आजदेखि सर्वसाधारणले नेपाल राष्ट्र बैंकको कार्यलय र वाणिज्य बैंकका तोकिएका शाखा कार्यलयबाट सुकिला नोट साट्न सक्नेछन्।
दसैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ ।खर्चको व्यवस्थापन गर्न राष्ट्र बैङ्कले केही वर्षअघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाएको थियो ।
राष्ट्र बैङ्कका सहायक प्रवक्ता डा। डिल्लीराम पोखरेलले पुराना सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने जानकारी दिए । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्न यस्तो निर्णय गरेको राष्ट्र बैङ्कले जनाएको छ ।
दसैँमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई एक वर्षअघि बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैङ्कमार्फत सटही व्यवस्था मिलाइने सहायक प्रवक्ता पोखरेलले बताए ।
दसैँ–तिहारका लागि ५, १० २०, ५० र १०० दरका नयाँ नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैङ्कले यस पटक सुकिला नोट सटहीको सुविधा दिने छ ।
विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि केन्द्रीय बैंकले साना दरको १्१ सेटको दरले १८ हजार ५०० रुपैयाँको नयाँ नोट सटही गर्न सक्ने जनाएको छ।