काठमाडौँ । रूस र युक्रेनबीच २०६ युद्धबन्दीको आदानप्रदान गर्ने सहमति भएको छ । सम्झौताअनुसार दुवैतर्फका बराबर संख्यामा बन्धक सैनिक आदानप्रदान गरिएको हो ।
रूसी रक्षा मन्त्रालयका अनुसार गत अगष्ट ६ देखि कुर्स्क क्षेत्रमा युक्रेनले गरेको आक्रमणका क्रममा बन्दी बनाइएका रूसी सैनिक र रूसले युक्रेनका विभिन्न स्थानबाट नियन्त्रणमा लिएका युक्रेनी सेनाको आदानप्रदान भएको हो ।
युक्रेनी पक्षबाट यसबारे तत्काल कुनै प्रतिक्रिया आइसकेको छैन । रुसी रक्षा मन्त्रालयले भनेको छ, ‘वार्ता प्रक्रियाको परिणाम स्वरुप कुर्स्क क्षेत्रमा पक्राउ परेका १०३ जना रूसी सैनिकलाई किएभ प्रशासनको नियन्त्रणमा रहेको क्षेत्रबाट फिर्ता गरिएको छ ।’
त्यसको बदलामा युक्रेनी सेनाका १०३ जना युद्धबन्दीलाई सुपुर्दगी गरिएको थियो । ‘अहिले सबै रुसी सैनिक बेलारुस गणराज्यको भूमिमा छन्, जहाँ उनीहरूलाई आवश्यक मनोवैज्ञानिक र चिकित्सा सहायता प्रदान गर्नुका साथै उनीहरूका आफन्तसँग सम्पर्क गर्ने अवसर प्रदान गरिएको छ,’ मन्त्रालयले भनेको छ ।
जारी शत्रुताको बावजुद, रूस र युक्रेनले संयुक्त अरब इमिरेट्स, साउदी अरब वा टर्कीको मध्यस्थतामा साढे दुई वर्षको द्वन्द्वको दौडानमा सयौँ कैदीहरू साटासाट गरेका छन् ।
युएईको मध्यस्थतामा भएको आदानप्रदान सम्झौतामा रूस र युक्रेनबीच दुवैतर्फका बराबर गरी कूल २३० युद्धबन्दी साटासाट गरेको तीन हप्तापछि यो घोषणा भएको हो ।