चीनमा अवकाशको उमेर बढाइने कानून पारित

0 Shares

काठमाडौँ । चीनले विस्तारै सेवा निवृत्तिको उमेर बढाउने निर्णय गरेको छ । चिनियाँ सांसदले सन् १९५० को दशकपछि पहिलो पटक कानूनी रूपमा अवकाशको उमेर क्रमशः बढाउने निर्णयलाई स्वीकार गर्ने पक्षमा मतदान गरेका छन् ।

चौधौँ राष्ट्रिय जन काङ्ग्रेसको स्थायी समितिको ११ औँ अधिवेशनले पारित गरेको निर्णयअनुसार सन् २०२५ देखि शुरु हुने १५ वर्षको अवधिमा पुरुषको वैधानिक अवकाश उमेर क्रमशः ६० बाट ६३ पुर्‍याइने छ । महिला कार्यकर्ता र महिला श्रमिकको लागि क्रमशः ५५ बाट ५८ वर्ष र ५० बाट ५५ वर्ष पुर्‍याइने छ ।

सन् २०३० देखि मासिक लाभ प्राप्त गर्नका लागि आवश्यक आधारभूत पेन्सन योगदानको न्यूनतम वर्षलाई क्रमशः १५ वर्षबाट बढाएर २० वर्षमा पुर्‍याइने छ । पेन्सन योगदानको न्यूनतम वर्ष पुगेपछि तीन वर्षभन्दा बढी समयअगावै स्वेच्छिक अवकाश लिन पाउने व्यवस्था गरिएको छ ।

यो पहिलेको वैधानिक उमेरभन्दा पहिले सेवानिवृत्त हुन अनुमति मिल्ने छैन । नयाँ नीतिहरूले व्यक्तिहरूलाई रोजगारदातासँग यस पहिले नै सम्झौता गरे पनि पछिको मितिमा सेवानिवृत्ति स्थगित गर्न अनुमति दिनेछ । तर, यस्तो विलम्ब तीन वर्षभन्दा बढी हुनु मिल्ने छैन ।

यस निर्णयले वृद्धावस्था बीमा प्रोत्साहन प्रणालीलाई परिष्कृत गर्ने, रोजगार पहिलो रणनीति लागू गर्ने, उनीहरूको वैधानिक सेवानिवृत्ति उमेर पार गरेका कामदारको आधारभूत अधिकार र हितहरू सुनिश्चित गर्ने, र वृद्ध हेरचाह र बाल हेरचाह सेवाहरू सुधार गर्ने उपायहरू पनि निर्दिष्ट गर्दछ ।

उक्त दस्तावेजमा बेरोजगार वृद्धाश्रमको कल्याण र विशेष पेसामा काम गर्नेहरूको लागि अगावै अवकाशसम्बन्धी विशेष प्रावधानहरू समावेश गरिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशन र २० औँ सीपीसी केन्द्रीय समितिको तेस्रो पूर्ण अधिवेशनले देशमा वैधानिक अवकाशको उमेर क्रमशः बढाउने स्पष्ट व्यवस्था गरेको छ ।

सांसदहरूले शुक्रबार पारित गरेको यो योजना चीनको औसत आयु, स्वास्थ्य अवस्था, जनसङ्ख्या संरचना, शिक्षाको स्तर र जनशक्ति आपूर्तिको विस्तृत मूल्यांकनका आधारमा तयार पारिएको हो ।

सम्बन्धित समाचार