काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’अन्तर्गत बेष्ट बैंक नेपाल र बेष्ट बैंक ईएसजी (वातावरण, सामाजिक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ ।
बिहीबार सिंगापुरमा आयोजित एक समारोहमा युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका हुन् ।
सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । ग्लोबल आईएमई बैंकले ग्राहकहरूलाई प्रदान गरेको सेवा, बैंकिङ क्षेत्रमा भित्र्याएको प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासनका क्षेत्रहरूमा बैंकले गरेको लगानी तथा बैंकको उच्चस्तरीय कार्य सम्पादनका लागि अवार्ड प्रदान गरिएको हो ।
युरो मनी म्यागजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात छ । युरो मनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्याति प्राप्त तथा अनुभवी व्यक्तिहरू छन् ।
यो वर्षको अवार्डसँगै ग्लोबल आईएमई बैंक दोस्रो पटक बेष्ट बैंक नेपाल अवार्डबाट सम्मानित भएको हो । यसअघि ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२ बेष्ट बैंक नेपाल’ प्राप्त गरेको थियो । यस्तै, बैंक ख्याति प्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट अनेकौँ विधामा सम्मानित भएको छ ।
बैंकले अहिलेसम्म ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, ‘बेष्ट बैंक अवार्ड २०२४’ र ‘बेष्ट इम्प्लोयर’ जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।
ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो । बैंकका एक हजार १०० भन्दा बढी सेवा केन्द्रहरू, ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा दिँदै आएको छ । बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापानलगायत देशहरूबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।