काठमाडौं । क्यानडामा सम्पन्न ग्लोबल टी २० लिगको उपाधि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल आबद्ध टोरोन्टो नेशनल्सले उचालेको छ ।
आइतबार राति सम्पन्न फाइनल खेलमा टोरोन्टोले साविक विजेता मोन्ट्रियल टाइगर्सलाई आठ विकेटले पराजित गरेको हो । ९७ रनको सामान्य लक्ष्य पछ्याएको टोरोन्टोले ३० बल बाँकी हुँदा दुई विकेट गुमाएर पूरा गरेको हो ।
टोरोन्टोका लागि आन्द्रिस गोसले ५८ र रासेइ भान डेर दुसेनले ३० रन बनाए । मोन्ट्रियलका अजमतुल्लाह ओमर्जाई र कोर्बिन बोशले एक-एक विकेट लिए ।
पहिले ब्याटिङ गरेको मोन्ट्रियलले नौ विकेट गुमाउँदै जम्मा ९६ रन बनाएको थियो । जसमा कोर्बिनले सर्वाधिक ३५ रन बनाए । जसकरण सिंहले १६ र अनुप रविले १० रन मात्रै बनाउन सके ।
टोरोन्टोका जसन बेहरेन्डोर्फ तीन, रोमारिओ शेफर्डले दुई, जुनैद सिद्दिकी, मोहम्मद नवाज, निखिल दत्त र जतिन्दरपाल मथारुले एक-एक विकेट लिए ।
शनिबार भएको दोस्रो क्वालिफायर खेलमा ब्राम्प्टन वुल्भ्सलाई पाँच विकेटले पराजित गर्दै टोरोन्टो फाइनल प्रवेश गरेको थियो । नेपालका खेलाडीहरू सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आबद्ध टोली लिगको अन्तिममा रहँदै बाहिरएको थियो ।