शक्तिशाली प्रधानमन्त्री हसिनाले देश भागिन्

0 Shares

काठमाडौं । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छन् । उनी चढेको हेलिकोप्टोर भारतीय शहर अगरतलातर्फ उडेको बीबीसीले जनाएको छ ।

सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोधमा विद्यार्थी समूहले सुरू गरेको आन्दोलन थप हिंसात्मक बनेपछि हसिनाले देश छाडेर भागेकी हुन् ।

सरकार विरोधी आन्दोलनमा परी अहिलेसम्म कम्तीमा ९० जनाको मृत्यु भएको छ । आज राजधानी ढाकाको उत्तरा नामक क्षेत्रबाट हजारौँ प्रदर्शनकारीले जुलुस निकाल्न थालेपछि सेना प्रमुखले राष्ट्रका नाममा सम्बोधन गर्ने सूचना सार्वजनिक भएको थियो ।

प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्री हसिनाले प्रदर्शनकारी विद्यार्थीहरूलाई ‘आतङ्कवादी’को स‌ज्ञा दिएकी थिइन् । हसिना विगत १६ वर्षदेखि बाङ्ग्लादेशको सत्ता हाँकिरहेकी छन् । उनी देशका संस्थापक प्रधानमन्त्रीकी छोरी हुन् ।

सन् २००४ मा चुनावी अभियानका क्रममा हसिनामाथि बम आक्रमण हुँदा उनी घाइते भएकी थिइन् । घटनामा कम्तीमा २० जनाको मृत्यु भएको थियो । एजेन्सी

 

सम्बन्धित समाचार