प्रभु बैंकका एक कर्मचारीमाथि एक करोड भन्दा बढी रूपैयाँ अपचलन गरेको आरोप

0 Shares

काठमाडौँ । प्रभु बैंकका एक कर्मचारीमाथि एक करोड भन्दा बढी रूपैयाँ अपचलन गरेको आरोप लागेको छ ।झापाको बिर्तामोडस्थित प्रभु बैंकको शाखाका कर्मचारी प्रमोद सिटौलाले ग्राहकको रकम हिनामिना गरेको आरोप लागेको हो।

बैंककी ग्राहक मञ्जु नेपालको एक करोड १७ लाख रुपैयाँ अपचलन गरेको बताइएको छ । नेपालले आफ्नो खातामा फिक्स डिपोजिटमा रकम संकलन गरेकी थिइन्। बिर्तामोडकी नेपालले विभिन्न समयमा र कैयौं पटक गरी प्रभु बैङ्कको बिर्तामोड शाखामा उक्त रकम जम्मा गरेकी थिइन् ।

तर रकम जम्मा गरेको ६ महिनापछि जब नेपाल खातामा रहेकौ पैसा जाँच गर्न बैंक गइन्, उनी छाँगाबाट खसेझैं भइन् । सो समयमा, नेपालको खातामा जम्मा २ लाख रूपैयाँ मात्र देखिएको थियो ।

बैंकका मार्केटिङ म्यानेजर रहेका चन्द्रगढी निवासी सिटौलाले सोहि रकमबाट एक करोड १७ लाख रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै नेपालले रकम अपचलन भएको जानकारी दिएकी हुन् ।

नेपालका अनुसार सिटौलाले आफूले जम्मा गरेको रकम नियतवश हिनामिना गरेर आफ्नो दुई वटै मोबाइल अफ गरेर सम्पर्कविहीन रहेका छन् ।

घटनापछि, नेपालका श्रीमान् टिकाराम नेपालले शाखा मेनेजरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा र इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी समेत दिएका थिए ।

तर, अहिले सिटौला फरार रहेका छन् । उनी फरार भएसँगै बैंकले घटनाका विषयमा अनुसन्धान गर्न प्रदेश स्तरीय टोली गठन गरेको छ । प्रभु बैंकका प्रदेश प्रमुख बद्री कट्टुवालको संयोजकत्वमा अनुसन्धान टोली गठन गरेको हो ।

सम्बन्धित समाचार