काठमाडौं । अमेरिकी साइबर सुरक्षा कम्पनी क्राउड स्ट्राइकले सूचना प्रणालीलाई अद्यावधिक (अपडेट) गर्दा विश्वव्यापी रूपमै समस्या आएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विभिन्न देशमा रहेका बैङ्क, विमान सेवा, रेलवे, टेलिभिजन, सञ्चार माध्यम र सुपरमार्केट तथा अनलाइन पैसा तिर्ने गेटवेसम्ममा त्यसको असर देखिएको हो ।
बीबीसीका अनुसार अमेरिकास्थित क्राउड स्ट्राइकबाट उक्त समस्या उत्पन्न भएको हो । माइक्रोसफ्ट विन्डोज अपरेटिङ सिस्टममा चल्ने कम्प्युटरलगायत उपकरणको स्क्रिन निलो देखिएको छ ।
अमेरिका, बेलायत, जर्मनीलगायत भारतको केही क्षेत्रमा समेत सूचना प्रविधि वेबसाइटमा समस्या भई प्रविधिमा आधारित विमान सेवा, बैङ्क, अस्पतालको काममा असर परेको छ । विश्वव्यापी रूपमा विन्डोज अपरेटिङ सिस्टममा आधारित भएर काम गर्ने कम्पनीको काममा असर परेको हो ।
माइक्रोसफ्टले भने यसमा आफ्नो त्रुटि नभएको दाबी गर्दै तेस्रो पक्षको समस्या रहेको प्रष्टीकरण दिएको छ । एप्पल र लिनक्सका प्रयोगकर्तामा यसको असर देखिएको छैन ।