युरोकप विजेता टोलीले कति पाउँछ पुरस्कार ?

0 Shares

काठमाडौं । फुटबलको प्रमुख प्रतियोगिता मानिने युरोकप आज राति समाप्त हुँदै छ । नेपाली समयअनुसार राति १२:४५ बजेदेखि खेल सुरु हुने भएको हो ।

फाइनल खेलमा तीन पटक युरोकपको उपाधि जितेको स्पेन र पहिलो पटक उपाधि खोजिरहेको इङल्याण्डबीच भिडन्त हुने भएको हो । योसँगै स्पेन पाँच पटक र इङल्याण्ड दोस्रो पटक युरोकपको फाइनलमा पुगेको हो ।

युरोपका देशहरू मात्रै सहभागी हुने यस प्रतियोगिताका लागि ठूलो मात्रामा धन राशीको खर्च हुने गरेको छ । आज सम्पन्न हुने युरोकपको पुरस्कारका लागि मात्रै ३५७ मिलियन अमेरिकी डलर अर्थात ४७ अर्ब ४८ करोड १० लाख रुपैयाँ खर्च हुने भएको छ । यो रकम सन् २०२० को युरोकपमा भएको खर्च बराबर हो ।

प्रतियोगितामा सहभागी भएका २४ वटा टोलीले ९.९६ मिलियन डलर अर्थात एक अर्ब ३२ करोड ४६ लाख रुपैयाँ पाउने छन् । यसबाहेक हरेक टोलीले खेलमा वियजी भएवापत पुरस्कार पाउने छन् ।

यस्तै, छनोट खेलमा विजयी भएको एक टोलीले खेलको बोनसवापत १.०७ मिलियन डलर अर्थात १४ करोड २३ लाख रुपैयाँ पाउने छन् । बराबरी खेल भएको उक्त रकमको आधा मात्रै पाउने छ ।

यसैगरी अन्तिम १६ स्थानमा पुगेर जित निकालेको टोलीले प्रति खेल १.६२ मिलियन अमेरिकी डलर अर्थात २१ करोड ५४ लाख रुपैयाँ पाउने छ । यस्तै, क्वार्टरफाइनलमा पुग्ने टोलीले २‍.६९ मिलियन डलर अर्थात ३५ करोड ७७ लाख रुपैयाँ पाउने छन् ।

सेमिफाइनलमा पुगेको टोलीले ४.३ मिलियन डलर पाउने छन् । यी टोलीले ५७ करोड १९ लाख रुपैयाँ पाउने छन् । प्रतियोगितामा उपविजेता बनेको टोलीले ५.४ मिलियन डलर अर्थात करिब ७२ करोड रुपैयाँ पाउने छ ।

विजेता बनेको टोलीले ८.६ मिलियन डलर पाउने छन् । यो रकम एक अर्ब १४ करोड ३८ लाख रुपैयाँ पाउने छन् ।

युरोकप आयोजना गर्ने संस्था यूईएफएका अनुसार एक टोलीले अपराजित यात्रा कायम गर्दै उपाधि रक्षा गर्न सके ३०.४३ मिलियन डलर अर्थात चार अर्ब चार करोड ७२ लाख रुपैयाँ पुरस्कार पाउने छ ।

यूईएफए कुनै पनि राष्ट्रिय टोलीमा खेल्दा खेलाडीका लागि भने पारिश्रमिक दिँदैन । उनीहरूले टोलीमा प्रदर्शनका आधारमा बोनस वा प्रति दिन भुक्तानीहरू पाउँछन् । तर, यो रकम सीधै खेलाडीलाई नभई देशको फुटबल महासंघ वा संस्थामा जान्छ ।

उक्त महासंघले प्रतियोगिताअघि खेलाडीहरूसँग गरेको सम्झौताका आधारमा खेलाडीलाई पारिश्रमिक दिने गरेका छन् । एजेन्सी

सम्बन्धित समाचार