केपी ओलीलाई प्रधानमन्त्री बनाउन देउवासहितको टोली राष्ट्रपति कार्यालयमा

0 Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको आह्वान गरेसँगै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति कार्यालय पुगेका छन् ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । राष्ट्रपति पौडेलको अह्वानसँगै ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अनुरोध गर्दै कांग्रेस र एमालेका शीर्ष नेताहरु शीतल निवास पुगेका हुन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि आह्वान गरेलगत्तै उनीहरु दुई दलका सांसदहरुको हस्ताक्षर लिएर शितल निवास पुगेका हुन् ।

यसअघि कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले हस्ताक्षर गरेर तयारी अवस्थामा बसेका थिए । आज बसेको प्रतिनिधिसभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएसँगै संविधानको धारा ३ अनुसार प्रधानमन्त्री नियुक्त हुने व्यवस्था रहेको छ ।

धारा ७६ को उपधारा २ मा दुई वा सोभन्दा बढी दलको सरकार गठन हुने प्रावधान संविधानमा रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि पद मुक्तसँगै यो धाराको उपधारा २ को अधिकार पूरा भएको थियो ।

यसैबीच राष्ट्रपति पौडेलले कानूनविदसँगको परामर्शपछि संविधानको धारा ७६ को उपधारा २ अनुसार नै सरकार गठनको आह्वान गरेका छन् ।

‘उपधारा (१) बमोजिम प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने छ,’ धारा ७६ को उपधारा २ मा भनिएको छ ।

राष्ट्रपति पौडेलले आइतबार साँझ ५ बजेसम्म समय दिएर नयाँ सरकार गठनका लागि दाबी पेश गर्न भनेका थिए ।

सम्बन्धित समाचार