काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत गुमाएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनको पक्षमा जम्मा ६३ मत परेको हो ।
प्रतिनिधिसभा बैठकमा पेश गरेको विश्वासको मतको प्रस्तावको विपक्षीमा १९४ मत परेको थियो । मत दिन्न भन्ने पक्षमा एक सांसदले मत दिएका थिए । आजको मतदान प्रक्रियामा २५८ सांसद सहभागी थिए ।
प्रधानमन्त्रीले संसदबाट विश्वासको मत गुमाएसँगै सरकार ढलेको छ । अब संघीय संसद सचिवालयले सरकारले विश्वासको मत गुमाएको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराएसँगै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्ने छन् ।
प्रचण्डले पहिलो पटक १० पुस २०७९ मा पहिलो पटक २६ पुसमा विश्वासको मत लिँदा अभूतपूर्व समर्थन पाएका थिए । यस क्रममा उनले २६८ मत परेको थियो । विपक्षमा २ मत मात्र परेको थियो ।
दोस्रो पटक ६ चैत २०७९ मा १७२ मत पाउँदा तेस्रो पटक ३० फागुन २०८० र चौथो पटक ७ जेठमा विश्वासको मत लिँदा समान १५७ मत पाए ।
यो संसदका दुई ठूला पार्टी कांग्रेस र एमालेले नयाँ सरकार बनाउने सहमति गरेसँगै उनी अल्पमतमा परेका हुन् ।