कांग्रेस-एमालेको निर्देशन: प्रधानमन्त्रीको विपक्षीमा मतदान गर्नु

0 Shares

काठमाडौं । प्रतिनिधिसभाको ठूलो नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्ने विश्वासको मतसम्बन्धि प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मतदान गर्न कांग्रेसका सांसदहरूलाई ह्वीप जारी गरेका हुन् ।

प्रमुख सचेतक लेखकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘असार २८ गते शुक्रबारका दिन बिहान ११ बजे प्रारम्भ हुने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्वीप) जारी गरिन्छ ।’

यसअघि सत्ता गठबन्धनबाट निस्केको नेकपा एमालेले प्रधानमन्त्री ‘प्रचण्ड’लाई विश्वासको मत नदिन ह्वीप जारी गरेको थियो । बुधबार बसेको एमालेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका थिए ।

एमालेले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेसँगै कांग्रेसले पनि मत नदिन ह्वीप जारी गरेको हो । विपरीत राजनीति विचारधारा भएको संसदका दुई ठूला दल कांग्रेस र एमालेले सत्ता सहकार्य गर्ने गरी सहमति जनाएसँगै प्रधानमन्त्रीले पुन: विश्वासको मत लिनु पर्ने भएको हो ।

गत १७ गते मध्यराति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आलोपालो प्रधानमन्त्री बन्ने गरी सहमति गरेसँगै प्रधानमन्त्री प्रचण्डको पद धरापमा परेको थियो । यसपछि एमालेले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिँदै राजीनामा दिन दबाब दिँदै आएको थियो ।

एमाले सरकारबाट बाहिरिएसँगै बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूले राजीनामा नदिने जानकारी दिएका थिए । यसैबीच उनले संवैधानिक अधिकारले दिएको अवधिसम्म सरकार पदमा पनि नबस्ने बिफ्रिङ गरेका थिए ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा गरेको बिफ्रिङअनुसार संवैधानिक अधिकारले दिएको अवधिभन्दा २० दिनअगाडि विश्वासको मत लिएर पदबाट बाहिरिने निर्णय गरेका थिए । सोहीअनुसार प्रधानमन्त्रीले भोलि बस्ने संसद बैठकमा विश्वासको मतसम्बन्धि प्रस्ताव राख्ने भएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भोलि बस्ने संसद बैठकमा विश्वासको मत लिने तयारी गरेसँगै दुई ठूला दलहरूले आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेर मत नदिन निर्देशन गरेको हो ।

 

सम्बन्धित समाचार