काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेलाई सत्तामा जानबाट रोक्ने प्रयास गरेकाे आरोप लगाएका छन् ।
बुधबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परे पनि राजीनामा नदिएर एमालेलाई सत्तामा जान रोक्ने पहल भइरहेको बताएका हुन् ।
उनले प्रचण्डले दोहोरो भूमिका देखाएको बताउँदै एमालेलाई कमजोर पार्ने गरी अहिलेको परिस्थिति पैदा भएको धारणा राखे । भ्रष्टाचार र अस्थिरताजस्ता स्वार्थप्रेरित काम देखिएको उनले बताए ।
ओलीले संविधानलाई गतिशिल बनाउन आवश्यकताअनुसार परिमार्जन गर्ने गरी कांग्रेससँग सहमति भएको भन्दै आयोग बनाउने कुरा बाहिर आएका हल्लामात्रै भएको बताए ।
यस्तै, उनले कांग्रेस-एमालेबीच समान रुपमा मन्त्रालयको बाँडफाँट हुने हैसियतका आधारमा अरु दललाई पनि सरकारमा सहभागी गराउने बताएका थिए ।