ओलीको गुमराहमा पर्दा प्रचण्डले गुमाएको सत्ता, कांग्रेस-एमालेले यसरी बनाए गठबन्धन

0 Shares

काठमाडौं । संसदमा आइतबार र सोमबार सत्ता पक्ष र विपक्ष सांसदबीच जुहारी चल्यो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी दललगायतले सत्ता सम्हालेका थिए ।

संसदमा कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा भ्रष्टाचार अनियमितता र जनजिविका मुद्दामा संसद घन्काउँदै आएका थिए । तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले असार १७ गते के हुन्छ रु ज्योतिषलाई देखाउनुस् भने जस्तै सत्ताबाट ओर्लिएको तीन वर्षपछि सत्ता साझेदारी माओवादीलाई पत्तो नदिई कांग्रेससँग मिलेर ओली सत्तामा जाने भए ।

ओलीले एमाले-माओवादी सत्तामा हुँदा मन मुटु मिलाए । सरकारमाथि प्रहार हुँदा जाइलाग्दै आए । जब असार १७ गते एमाले-कांग्रेस गठबन्धन गरेर सरकारको नेतृत्व गर्ने अवस्थामा पुग्यो । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परेको भन्दै तत्काल राजीनामा दिन दबाब दिँदै आए ।

एमालेले दबाब दिएसँगै प्रधानमन्त्रीले संवैधानिक व्यवस्था बमोजिम असार २८ गते विश्वासको मत लिने कार्य तालिका सार्वजनिक गरे । यसबीच पनि कांग्रेस-एमालेले प्रधानमन्त्रीलाई राजीनामा नै दिन दबाब दिँदै आएका छन् ।

प्रधानमन्त्रीले विश्वासको मत लिन केही दिन मात्रै बाँकी छ । तर, एमाले किन पर्खिन मानेको छैन । यी प्रश्नहरु सबैका समक्ष प्रतिप्रश्न बनेर आएको छ ।

गत असार १५ गते धान दिवसको दिन कांग्रेस सभापति शेरबहादुर देउवा ओली निवास बालकोट पुगे । त्यससँगै प्रधानमन्त्री प्रचण्डको मनमा चिसो पसेको एक माओवादी केन्द्रका नेताले बताए ।

देउवा ओलीलाई भेट्न आफ्ना विश्वास पात्र नेताभन्दा पत्नी आरजु राणालाई लिएर बालकोट पुगेका थिए । प्रायः आफ्ना विश्वास पात्र नेतालाई लिएर राजनीतिक भेटघाटमा जाने देउवा त्यस दिन पत्नीलाई लिएर बालकोट पुगेपछि फरक रुपमा लिएको थियो ।

उनीहरूको भेटका विषयमा प्रधानमन्त्री प्रचण्डले असार १६ गते सिंहदरबारमा बोलाएर ओलीसँग कुराकानी गरेका थिए । ओलीको जवाफमा प्रचण्ड विश्वस्त हुन नसकेपछि १७ गते बिहान बालुवाटार बोलाएर पाँच घण्टा लामो ‘वान टु वान’ छलफल समेत गरेका थिए ।

त्यस बैठकमा ओलीले प्रचण्डलाई तीन कुरा बताएको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समेत पार्टी बैठकमा खुलाएका थिए । नेपालका अनुसार पहिलो बचन ‘तपाई हामी एउटै डुङ्गामा हुने छौँ बाँचे पनि मरे पनि सँगै हुने छौँ’ भनेका थिए ।

दोस्रो बचन ‘एमाले-माओवादी एकता गरेर जाने देशमा राजनीतिक स्थायित्व दिनु पर्ने’ मत राखेको अध्यक्ष नेपालको भनाइ थियो । तेस्रो बचनका रुपमा ‘ओलीले प्रचण्ड नेतृत्व सरकारलाई बलियो बनाउन विज्ञको समेत सहभागी भएको आयोग बनाउने ।’

त्यति मात्र नभई विज्ञको बैठक कहिले राख्ने भनेर प्रचण्डलाई समेत प्रश्न गरेको नेपालले बैठकमा सुनाए । एक माअ‍ोवादी नेताका अनुसार असार १७ गते बिहान पाँच घण्टा छलफल गरेका ओली पार्टी बैठक छ भनेर बालुवाटारबाट निस्किएका थिए ।

बजेट निर्माणदेखि एमाले र कांग्रेसका नेताहरू प्रचण्डको विकल्पमा नयाँ सरकार बनाउन निरन्तर लागि रहेका थिए । त्यसबारे ओलीले प्रचण्डलाई सुइको समेत नदिएको माओवादी नेता बताउँछन् ।

असार १७ गते प्रचण्डसँग छलफल गर्दा समेत कांग्रेस(एमालेका दोस्रो तहका नेताहरु सत्ता भागबण्डाका विषयमा घनभूत छलफल गरिरहेको ती माओवादी नेता बताउँछन् ।

असार १७ गते साँझ आफू ढुक्क नभएपछि एमाले उपाध्यक्ष विष्णु पौडेललाई फोन गरेर जिज्ञासा राखेका थिए । बालकोट पुगेका पौडेललाई ओलीले प्रचण्ड नेतृत्वको सत्ता केही नहुने १८ गते एमाले महासचिव शंकर पोखरेलले सरकारको पक्षमा विज्ञप्ति निकाल्ने भन्न लगाएका ती नेताले बताए ।

‘केपी कमरेडले विष्णु कमरेडलाई प्रचण्ड नेतृत्वको सरकार केही हुँदैन, पार्टी महासचिवले तपाई ९प्रचण्ड०को नेतृत्वको सरकारको बारेमा भ्रम चिर्ने गरी विज्ञप्ति निकाल्नु हुन्छ भन्नु भए,’ ती एमाले नेताले भने, ‘केपी कमरेडले भन्नु भएको सबै कुरा विष्णु कमरेडले प्रचण्डलाई सुनाउनु भएछ, प्रचण्ड जी ढुक्क भएर सुत्नु भएछ ।’

त्यसै रात बेलुका १० बजे देउवा र ओलीले हस्ताक्षर गरेर सरकार निर्माणसँगै संविधान संशोधन गर्ने सहमति गरेको ती एमाले नेताले बताए । एमाले अध्यक्ष ओलीले प्रचण्डलाई समेत झुक्याएर कांग्रेससँग सरकार निर्माण र संविधान संशोधनमा सहमति गरेको अध्यक्ष नेपालले पार्टी बैठकमार्फत खुलासा गरेका थिए ।

नेपाली राजनीतिका चतुर खेलाडी मानिने प्रचण्ड योपटक ओलीको खेलमा फस्न पुगे । ओलीले प्रचण्डलाई गुमारमा राखेर देउवासँग सरकार बनाएर संविधान संशोधन गर्ने हस्ताक्षर गरे पनि सहमति पत्र बाहिर सार्वजनिक भएको छैन ।

सम्बन्धित समाचार