संसदको एकै ठाउँमा कांग्रेस-एमाले, सत्ता पक्षसँग प्रतिपक्षको जुहारी

0 Shares

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच सरकारमा सहभागी ठूलो दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल राजीनामा दिनु पर्ने वा संविधानको व्यवस्थाअनुसार तीस दिनभित्र विश्वासको मत लिनु पर्ने भन्नेमा तर्कवितर्क गर्दै जुहारी चलेको छ ।

संसदको विपक्षी बेञ्चतर्फ एकै स्थानमा बसेका नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले वर्तमान सरकार अल्पमतमा परेकाले राजीनामा दिएर नयाँ सरकार गठनका निम्ति मार्ग प्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् । सत्ता पक्षीय दल नेकपा माओवादी केन्द्रका सांसदले संवैधानिक प्रक्रियाअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिने दोहोर्याएका छन् ।

यही असार १७ गते कांग्रेस र एमालेबीच नयाँ सरकार गठनको सहमति भई एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले वर्तमान सरकारले दीर्घ कालीन असर गर्ने कुनै पनि निर्णय गर्न नहुनेमा दुवै दलका सांसदले जोड दिएका छन् ।

एमालेका योगेश भट्टराईले जनताका समस्या समाधानका लागि कांग्रेस र एमालेबीच सत्ता सहकार्यको समझदारी भएको बताए । ‘देशमा लगानीको वातावरण बनाउन, बिग्रँदै गएको अर्थतन्त्रलाई सुधार्न, युवावर्गका बाह्यमुलुकतर्फको गमन रोक्न र संविधान पुनरावलोकन गर्न दुई दलले सहकार्यको निर्णय गरेका हुन्छ’ उनले भने ।

कांग्रेसका सांसद डिगबहादुर लिम्बुले राजनीतिक क्षेत्रमा नयाँ परिस्थिति निर्माण भएको उल्लेख गर्दै अब बन्ने सरकारले जनचाहनाअनुसार काम गर्ने विश्वास व्यक्त गरे ।

माओवादी केन्द्रका सांसद माधव सापकोटाले नयाँ सत्ता समीकरणले मुलुकमा स्थायित्व कायम गर्न नसक्ने दाबी गरे । ‘दुई दलबीचमा के कस्ता सम्झौता भए, त्यो सार्वजनिक भएको छैन”, उनले भने, ‘प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि संसदमा प्रस्ताव दर्ता गराइसक्नु भएको छ, संवैधानिक प्रक्रियामा गएकालाई कसैले पनि रोक्नु हुँदैन ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सिङ्गो मुलुक विपदमा परेका बेला जिम्मेवार भनिएका राजनीतिक दलहरू आफ्ना स्वार्थमा अल्झेका आरोप लगाए । ‘विपद्का बेला सबै राजनीतिक दल एक ठाउँमा उभिनु पर्नेमा दुई ठूला दल सरकार परिवर्तनमा लाग्नु विडम्बना हो”, सांसद पराजुलीले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले मुलुकका हितका लागि संशोधन गर्न सबै राजनीतिक दलले सहयोग गर्नु पर्ने बताए । नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले प्राकृतिक विपत्तिमा परेका नागरिकको उद्धार तथा राहत सामग्री वितरणमा सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भारतको मेघालयस्थित कोइलाखानीमा मारिएका चार नेपालीको बारेमा तत्काल सत्यतथ्य सार्वजनिक गर्न माग गरेका थिए ।

सम्बन्धित समाचार