काठमाडौं । सरकारका प्रवक्तासमेत रहेको सञ्चार मन्त्री रेखा शर्माले सत्ता परिवर्तन नहुने स्पष्ट पारेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले सत्ता परिवर्तन हुने कुरा निराधार भएको बताएकी हुन् ।
‘सरकार परिवर्तन हुने कुरा निराधार हो, यस विषयमा प्रधानमन्त्रीले एमाले अध्यक्षसँग छलफल गरिरहनु भएको छ,’ उनले भनिन्, ‘यो सरकार लामो समयसम्म जान्छ ।’
यसअघि सत्ता परिवर्तन हुनेबारे समाचारहरू आइरहेका छन् । शनिबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएपछि सत्ता परिवर्तन हुनेबारे चर्चा सुरू भएको हो ।
सोमबार बिहान मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष अोलीबीच पाँच घण्टा छलफल गरेका थिए । ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।