काठमाडौं । जारी टी २० विश्वकपको फाइनल खेल आज हुँदैछ । फाइनलमा उपाधिका लागि अपराजित यात्रामामा रहेको टोली भारत र दक्षिण अफ्रिकाबीच भिडन्त हुने भएको छ ।
बरबाडोसमा हुने फाइनल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि शुरु हुने छ । सेमिफाइनलमा भारतले इङल्याण्ड र दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।
भारत २०१४ पछि पहिलो पटक टी २० विश्वकपको फाइनलमा पुगेको छ । भारतले २००७ को टी २० विश्वकपको पहिलो संस्करण जितेपछि अहिलेसम्म विश्वकप जित्न सकेको छैन । २०१४ मा उपविजेता बनेको भारत पछिल्लो विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको थियो ।
त्यस्तै, दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । दक्षिण अफ्रिका यसअघि २०१४ को विश्वकपमा सेमिफाइनलमा पुगेको थियो । त्यसअघि २००९ को विश्वकपमा सेमिफाइनलमा पुगेको थियो ।
भारत र दक्षिण अफ्रिकाबीच अहिलेसम्म २६ टी २० खेल भएका छन् । जसमा भारतले १४ खेल जितेको छ भने दक्षिण अफ्रिकाले ११ खेल जितेको छ । त्यस्तै एक खेलको नतिजा आएको छैन ।
भारतका लागि कप्तान रोहित शर्मा सबैभन्दा सफल ब्याट्सम्यान देखिएका छन् । यस विश्वकपमा उनले सात खेलमा तीन अर्धशतकसहित २४८ रन बनाएका छन् । सूर्यकुमार यादवले सात खेलमा दुई अर्धशतकसहित १९६ रन बनाएका छन् ।
त्यस्तै, भारतका लागि अर्शदीप सिंह सर्वाधिक सफल बलर रहेका छन् । उनले यस विश्वकपका सात खेलमा १५ विकेट लिँदै सर्वाधिक विकेट लिने बलरको सूचीमा दोस्रो स्थानमा छन् ।
दक्षिण अफ्रिकाका लागि यस विश्वकपमा क्वेंटन डिककले सर्वाधिक २०४ रन बनाएका छन् । डेभिड मिलरले १४८ रन बनाएका छन् । त्यस्तै दक्षिण अफ्रिकाका बलर एनरिक नोकियाले सर्वाधिक १३ विकेट लिएका छन् भने कागीसो रबाडाले १२ र ताब्रेज शाम्शीले ११ विकेट लिएका छन् ।