काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको विशेष महाधिवेशनको मिति केन्द्र समिती बैठकले तोक्ने बताएका छन् ।
तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले केन्द्रीय समितिले विशेष महाधिवेशन मिति तोकेर पार्टीलाई गति दिने दाबी गरे । उनले पार्टीका सबै नेता-कार्यकर्ताले फुर्सद नपाउने गरी अभियानको तयारी गरिने बताए । आगामी असार अन्तिम साता वा साउन पहिलो साता विशेष महाधिवेशन मिति तोक्ने माओवादीले तयारी गरेको छ ।
यस्तै, प्रधानमन्त्री प्रचण्डले समीकरणमा कुनै समस्या र असमझदारी नरहेको स्पष्ट पार्दै समझदारीअनुरूप सत्ता समीकरण अगाडि बढ्ने बताए । उनले भने, ‘आजभोलि बजारमा सरकार के हुन्छ, सत्ता समीकरण के हुन्छ भन्नेखालका प्रश्न उठाउन खोजिएको छ, यस्तो प्रचार र आशंका म प्रधानमन्त्री भएको दिनदेखि नै थियो, तर कुनै समस्या छैन ।’
कार्यक्रममा प्रधानमन्त्रीले नेपालका जाति जनजातिहरूले गरेको त्याग र सकारात्मक योगदानका कारण देशमा ठूलो राजनीतिक परिवर्तन सम्भव भएको बताए ।
प्रधानमन्त्रीले जनयुद्ध कुनै पार्टी विशेषको नभएर आम नेपाली जनताको मुक्तिकामी संघर्ष भएको स्पष्ट पारे उनले भने, ‘जनयुद्ध जनताको युद्ध थियो, लाखौँ जनताले आफ्नो मुक्तिका लागि संघर्ष नगरेको भए आजको परिस्थिति आउँदैनथ्यो, आज हामी नितान्त भिन्न परिस्थितिमा छौँ, हामी परिवर्तनका उपलब्धि रक्षा गर्न र समाजवादको आधार तयार पार्न शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धासहितको समझदारीमा आएका हौँ, यही आधारमा टेकेर समाजवादको तयार गर्छौं ।’