स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्‍मा दर्ता गर्ने तयारी

0 Shares

काठमाडौं । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने उद्देश्यसहित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ।

यसैक्रममा बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको नेतृत्वमा मन्त्रालयमा स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा सम्बन्धित निकायका प्रतिनिधिसँग थप छलफल भएको छ। यसअघि पनि मन्त्री मेहताको नेतृत्वमा सम्बन्धित निकाय तथा सरोकारवालासँग चरणबद्ध रूपमा छलफल हुँदै आएको छ।

मन्त्रालयले आवश्यक छलफल तथा गृहकार्यपछि स्वास्थ्य बीमा ऐन संशोधनसम्बन्धी विधेयक तयार गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी विधेयकलाई छिट्टै सङ्घीय संसद्मा दर्ता गर्ने तयारी भइरहेको छ।

प्रस्तावित संशोधनमा स्वास्थ्य बीमा कार्यक्रमको योगदान सङ्कलन र सेवा भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउने, सरकारी तथा निजी क्षेत्रका कर्मचारी, स्वरोजगार र अन्य नागरिकलाई बीमाको दायरामा समेट्ने तथा आर्थिक रूपमा योगदान गर्न नसक्ने नागरिकको स्वास्थ्य उपचारको जिम्मेवारी राज्यले लिने विषयलाई प्राथमिकता दिइएको छ।

त्यस्तै, स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषलगायतका निकायमार्फत उपलब्ध स्वास्थ्य उपचार सुविधाबीच समन्वय तथा एकीकरण गर्ने, बीमा सेवा प्रवाह सहज बनाउने, स्वास्थ्य संस्थाको दायरा विस्तार गर्ने तथा अनावश्यक परीक्षण र अनुचित दाबी नियन्त्रण गर्ने विषय पनि प्रस्तावित सुधारमा समेटिएका छन्।

स्वास्थ्य बीमा कार्यक्रमलाई उपचार खर्चको व्यवस्थापनमा मात्र सीमित नराखी प्रत्येक नागरिकको स्वास्थ्य सुरक्षासँग जोड्ने र आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपर्ने व्यवस्था सुनिश्चित गर्ने लक्ष्यसहित मन्त्रालयले कानुनी तथा नीतिगत सुधारलाई अघि बढाएको मन्त्री मेहताले बताइन्।

सम्बन्धित समाचार