काठमाडौं । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनासम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को ४५ दशमलव ०८ प्रतिशत हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको २०८३ कात्तिक मसान्तसम्मको प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको सुरुआतमा कुल सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रहेकामा कात्तिक मसान्तसम्ममा विनिमय दरमा भएको नाफासहित ऋण दायित्व घटेर २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख कायम भएको हो ।
कार्यालयको प्रतिवेदनअनुसार कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२ दशमलव ९३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७ दशमलव ०७ प्रतिशत रहेको छ । जसअनुसार कात्तिक मसान्तसम्म सरकारको वैदेशिक ऋण दायित्व १५ खर्ब ७४ अर्ब ६४ करोड २१ लाख पुगेको छ भने आन्तरिक ऋण दायित्व १४ खर्ब ४७ करोड ५९ लाख रहेको छ ।
सरकारले चालू आर्थिक वर्षमा कुल छ खर्ब ५८ अर्ब २८ करोड सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । त्यसमा कात्तिक मसान्तसम्म एक खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख ऋण प्राप्त भएको छ । यो वार्षिक लक्ष्यको २३ दशमलव ३७ प्रतिशत हो ।
कुल ऋण परिचालनको लक्ष्यमा आन्तरिक ऋणतर्फ चार खर्ब १० अर्ब र वैदेशिक ऋणतर्फ दुई खर्ब ४८ अर्ब २८ करोड सात लाख रहेको छ । कात्तिक मसान्तसम्म आन्तरिक ऋणतर्फ एक खर्ब २५ अर्ब र वैदेशिक ऋणतर्फ २८ अर्ब ८४ करोड प्राप्त भएको छ ।
वार्षिक लक्ष्यका आधारमा आन्तरिक ऋण परिचालनको प्रगति ३० दशमलव ४९ प्रतिशत र वैदेशिक ऋण परिचालनको प्रगति ११ दशमलव ६२ प्रतिशत रहेको छ । प्राप्त कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८१ दशमलव २५ प्रतिशत र वैदेशिक ऋणको हिस्सा १८ दशमलव ७५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
सरकारले चालू आर्थिक वर्षमा परिचालन गर्ने लक्ष्य राखेको सार्वजनिक ऋणमध्ये अझै पाँच खर्ब चार अर्ब ४३ करोड ३५ लाख प्राप्त गर्न बाँकी छ । यसमध्ये आन्तरिक ऋणतर्फ दुई खर्ब ८५ अर्ब र वैदेशिक ऋणतर्फ दुई खर्ब १९ अर्ब ४३ करोड ३५ लाख परिचालन गर्न बाँकी रहेको छ ।
यसैगरी, सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा सरकारले चालू आर्थिक वर्षका लागि चार खर्ब १७ अर्ब ८८ करोड बराबर बजेट विनियोजन गरेको छ । जसमध्ये कात्तिक मसान्तसम्ममा एक खर्ब ४० अर्ब ९३ करोड ६१ लाख ऋण भुक्तानी भएको छ । यो वार्षिक विनियोजनको ३३ दशमलव ७३ प्रतिशत हो । कुल गार्हस्थ्य उत्पादनको आधारमा चार महिनामा भएको ऋण सेवा खर्च दुई दशमलव १४ प्रतिशत रहेको छ ।